इटहरी : पाँचथर र तेह्रथुममा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना जलविद्युत् आयोजनाका कर्मचारी छन्। पाँचथरको फिदिम नगरपालिका–८ मान्द्रेभीरमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। पौवाभञ्ज्याङबाट तमाखे–रानीटारतर्फ जाँदै गरेको प्र १–०१–०२ स ६००७ नम्बरको अटो बुधबार साँझ करिब ७ः५० बजे सडकबाट करिब सात मिटर तल खसेको थियो।
दुर्घटनामा फिदिम–८ का अन्दाजी ४२ वर्षीय सुजन राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अटोमा कति जना सवार थिए भन्ने खुलेको छैन। प्रारम्भिक अनुसन्धानमा उकालो तथा भिरालो कच्ची सडकका कारण अटो दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। यस्तै, तेह्रथुमको म्याङलुङ नगरपालिका–९ बगाले होटलनजिक मध्यपहाडी लोकमार्गमा जलविद्युत् आयोजनाको सामग्री बोकेको पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिरीखिम्तीबाट म्याङलुङतर्फ जाँदै गरेको प्र १–०२–००२ च ५६०४ नम्बरको पिकअप नालीको भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो। दुर्घटनामा फेदाप गाउँपालिका–४ का अन्दाजी ४० वर्षीय टेकबहादुर कटेल गम्भीर घाइते भएका थिए।
रिलाबर हाइड्रो पावर हाउसको सामग्री बोकेको पिकअपमा सवार कटेलको उपचारका क्रममा जिल्ला अस्पताल तेह्रथुममा बुधबार दिउँसो १२ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा पिकअप चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ का अन्दाजी ४३ वर्षीय राजेन्द्र श्रेष्ठ सामान्य घाइते भएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार पिकअपको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ।


