इटहरी : रसुवाको टिमुरे तथा चीनसँगको केरुङ नाका आसपास बुधबार आएको बाढीपछि इलाम र पाँचथरका केही नागरिक सम्पर्कविहीन भएका छन् ।

गोसाइँकुण्ड यात्राका लागि काठमाडौंको नयाँ बसपार्कबाट छुटेको बसमा सवार इलामका यात्रुसहित रसुवामै कार्यरत पाँचथरकी ज्योती मगरसमेत सम्पर्कविहीन भएको परिवारजनले बताएका छन् । इलामको माई नगरपालिका–७ का नरेन्द्रप्रसाद दाहालसहित यात्रु सवार बा ६ ख ८५६५ नम्बरको बस बुधबार बिहान ६ बजे काठमाडौंको नयाँ बसपार्कबाट गोसाइँकुण्डका लागि हिँडेको थियो । बस बिहान ८ः४५ बजे नुवाकोटको गंगटे पुगेपछि यात्रु तथा बससँग सम्पर्क हुन नसकेको परिवारजनले जनाएका छन् । प्रारम्भिक विवरणअनुसार बसमा सवार इलामका मात्रै १० जना सम्पर्कविहीन भएको जनाइएको छ । उक्त बसमा देउमाई नगरपालिका–९ का बुद्धिसागर न्यौपाने र खिनमाया न्यौपानेसमेत रहेको जनाइएको छ । उनीहरूसँग पनि त्यसयता सम्पर्क हुन नसकेको आफन्तले बताएका छन् । यस्तै, इलाम नगरपालिकाका राजकुमार दियाली, उनकी श्रीमती सृष्टिका दर्नाल र छोरा श्रीराज दियाली पनि बाढीपछि सम्पर्कविहीन भएका छन् । उनीहरू रसुवाको बाढी प्रभावित क्षेत्रमा रहेको आशंका गरिए पनि पछिल्लो अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ । माई नगरपालिका क्षेत्रका देवानन्द सुवेदी (दीपक सुवेदी) पनि टिमुरे क्षेत्रमा सम्पर्कविहीन भएका छन् । बुद्धिसागरका भान्जा रविन्द्र सुवेदीका अनुसार उनीसँग बुधबार बिहान करिब ७ः३० बजे अन्तिमपटक सम्पर्क भएको थियो । उनी बा १ ज ४८९७ नम्बरको गाडीसँगै सम्पर्कविहीन भएको जनाइएको छ ।

त्यसैगरी पाँचथरकी ज्योती मगर रसुवामै कार्यरत कर्मचारी हुन् । बाढीपछि उनी पनि सम्पर्कविहीन भएको आफन्तले बताएका छन् । उनको कार्यस्थल र पछिल्लो अवस्थाबारे थप विवरण प्राप्त हुन सकेको छैन । रसुवाको टिमुरे तथा केरुङ सीमा क्षेत्रमा आएको बाढीले सडक तथा सञ्चार सम्पर्कमा समेत असर पुर्‍याएपछि प्रभावित क्षेत्रमा रहेका नागरिकसँग सम्पर्क गर्न कठिनाइ भएको बताइएको छ ।

सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि परिवारजनले सुरक्षा निकाय र सम्बन्धित उद्धार टोलीलाई आग्रह गरेका छन् । उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भए परिवारजनलाई तत्काल खबर गरिदिनसमेत आग्रह गरिएको छ । नरेन्द्रप्रसाद दाहालका परिवारले ९८०७९२६७०१ र ९८१७०९२६०६ मा तथा अन्य यात्रुको अवस्थाबारे जानकारी भए ९८४९६३८५४८ मा खबर गरिदिन अनुरोध गरेका छन् ।