इटहरी। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि तेह्रथुमका एक ट्रक चालक सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन हुनेमा तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिम कोराङका करिब ३६ वर्षीय रामभक्त नेवार रहेका छन् । उनी ट्रक लिएर सामान लिन रसुवाको नाका पुगेका बेला बाढी आएपछि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । मोरङको बेलबारी नगरपालिका–८, बुधबारे भाउन्नेमा बस्दै आएकी रामभक्तकी भाउजू कुमारी नेवारका अनुसार रामभक्तले बुधबार बिहान करिब ६ बजे घरमा फोन गरी रसुवा नाकामा सामान लोड गर्न आएको बताएका थिए । सामान लिएर काठमाडौं जानुपर्ने बताएपछि केही समयमै रसुवामा भीषण बाढी आएको खबर परिवारले पाएको थियो ।
त्यसपछि रामभक्तसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइलमा फोन नलागेको कुमारीले बताइन् । रामभक्त गत वैशाखदेखि रसुवा–काठमाडौं रुटमा ट्रक चलाउँदै आएका थिए । उनी बेलाबेला परिवारसँग फोनमा सम्पर्कमा रहने गरेको भए पनि बुधबार बाढी आएपछि अहिलेसम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ । परिवारले बाढीका कारण सम्पर्कविहीन भएका रामभक्तको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ ।


