काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउन २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकको सञ्चालक समितिको निर्णयअनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ र बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबापत १५ लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ सहयोग गरिएको हो । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ । बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विपद्बाट प्रभावित समुदाय, मानवीय सहायता तथा सामाजिक हितका क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ ।
बैंकले भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । त्यस्तै, विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापनमा सक्रिय सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, स्वयंसेवक र सहयोगी सबैप्रति बैंकले आभार व्यक्त गरेको छ । विपद्को कठिन अवस्थामा समन्वय, सहकार्य र मानवीय सहयोगमार्फत प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा थप योगदान पुर्याउन बैंकले सबै सरोकारवालालाई सहयोगका लागि आह्वान गरेको छ ।


