काठमाडौं । भोटेकोशी नदीमा फेरि ठूलो बाढी आउन सक्ने सम्भावना देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

चीनतर्फबाट परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाअनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण गर्दा भदौ १० गते विनाशकारी बाढी आएको स्थानमा नदी थुनिएर ठूलो ताल बनेको देखिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त तालमा पानीको मात्रा निरन्तर बढिरहेको र कुनै पनि बेला ताल फुटेर भोटेकोशी नदीमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम देखिएको हो। प्रारम्भिक चिनियाँ सूचनाअनुसार छोचेन खोला र पुरेपु साङ्पो नदीको संगम आसपास करिब २० लाख घनमिटर पानी जम्मा भएको ताल बनेको र त्यसमा पानी थपिँदै गएको बताइएको छ।

चिनियाँ पक्षको प्रारम्भिक आकलनअनुसार तालमा आगामी केही दिनमै थप ठूलो मात्रामा पानी जम्मा हुन सक्ने भएकाले ताल फुटेमा नेपालतर्फ भोटेकोशी नदीको बहाव पुनः अत्यधिक बढ्न सक्ने जोखिम छ। यसअघि भदौ १० गते तिब्बततर्फबाट आएको आकस्मिक बाढीले रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी हुँदै नुवाकोट, धादिङ र चितवनसम्म ठूलो क्षति पुर्‍याएको थियो। सरकारी प्रारम्भिक प्राविधिक विश्लेषणअनुसार यसअघिको बाढी हिमपहिरो तथा नदी थुनिएर बनेको ताल फुट्दा आएको हुन सक्ने देखिएको छ।

 बाढीका कारण भोटेकोशी, त्रिशूली तथा नारायणी नदी प्रणालीका तटीय क्षेत्रमा जनधन, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।  पछिल्लो जोखिमलाई मध्यनजर गर्दै बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, नदी किनारमा रहेका व्यक्ति तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्तालाई समेत विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले नदीको बहाव सामान्य देखिए पनि जोखिम पूर्ण रूपमा टरिनसकेको भन्दै नदी किनार, खोँच तथा अन्य जोखिमयुक्त स्थानमा नबस्न र सम्भावित बाढीबाट सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। विशेषगरी रातको समयमा नदीको आवाज, पानीको सतह वा बहावमा अचानक परिवर्तन देखिएमा जोखिम नलिई तत्काल सुरक्षित स्थानतर्फ जान र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ। 

चीनतर्फ नदी थुनिएर बनेको तालको अवस्था र पानीको मात्रा निरन्तर निगरानीमा राखिएको जनाइएको छ। यसअघि पनि भोटेकोशी क्षेत्रमा हिमताल तथा नदी थुनिएर बनेका ताल फुट्दा आकस्मिक बाढी आएको घटना दोहोरिँदै आएकाले सीमापारबाट आउने बाढीको जोखिमलाई उच्च प्राथमिकतामा राखेर पूर्वतयारी र सतर्कता बढाउनुपर्ने देखिएको छ।