इटहरी। सुनसरीको वराहक्षेत्र नगरपालिका–७, बेलाहामा रहेको ‘एन्टिस्नेक भेनम’ उत्पादन उद्योगले तीन वर्षदेखि बैङ्कबाट ऋण प्राप्त गर्न नसक्दा सर्पदंशविरुद्धको औषधी उत्पादन सुरु गर्न सकेको छैन । नेपालमै निजी क्षेत्रको लगानीमा स्थापना भएको उद्योगले आवश्यक मेसिनरी जडान तथा आन्तरिक संरचना निर्माणका लागि करिब २० करोड रुपियाँ लगानी आवश्यक पर्ने भए पनि बैङ्कबाट ऋण नपाउँदा उत्पादनको काम अघि बढ्न नसकेको हो ।
उद्योगका सञ्चालक तथा अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलका अनुसार उद्योग सञ्चालनका लागि सरकारले वित्तीय सहुलियत तथा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा बैङ्कबाट ऋण प्राप्त हुन सकेको छैन । उद्योगले सर्पदंशविरुद्ध प्रयोग हुने एन्टिभेनम सेरम नेपालमै उत्पादन गर्ने उद्देश्य राखेर भौतिक संरचनालगायतका निर्माणको काम सम्पन्न गरे पनि मेसिनरी जडानको काम नहुँदा एन्टिभेनम सेरम उत्पादन हुन सकेको छैन । उद्योग सञ्चालनमा आएपछि पोलिभेनम र मोनोभेनम दुवै प्रकारका औषधी उत्पादन गर्ने तयारी छ । सर्पको प्रजाति पहिचान नभएको अवस्थामा विभिन्न प्रकारका विषविरुद्ध काम गर्ने पोलिभेनम उपयोगी हुने र सर्पको प्रजाति पहिचान भएको अवस्थामा सम्बन्धित विषविरुद्धको मोनोभेनम प्रयोग गर्न सकिने ‘एन्टी स्नेक भेनम’ उत्पादन उद्योगले जनाएको छ । हाल नेपालमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिभेनम औषधीका लागि बाह्य मुलुकमा निर्भर हुनुपर्ने अवस्था छ । भारतबाट ठुलो परिमाणमा एन्टिभेनम आयात हुँदै आएको र स्वदेशमै उत्पादन गर्न सके आयात प्रतिस्थापन गर्दै भविष्यमा निर्यातसमेत गर्न सकिने बताइएको छ ।
औषधी उत्पादनका लागि आवश्यक आधारभूत कानुनी अवरोध हटेपछि उद्योगले सर्प पाल्ने कानुनी अनुमति पाएको थियो । अनुमति पाएसँगै उद्योग सञ्चालनका लागि १६ करोड लगानी गरेर आवश्यक संरचना निर्माण गरिसकेको ‘एन्टी स्नेक भेनम म्यानुफ्याक्चरिङ’ प्रालिका अध्यक्ष लक्ष्मी प्रसाद फुयाँलले बताउनुभयो । चार बिघा जग्गामा ‘एन्टिस्नेक भेनम’ उत्पादन उद्योग रहेको कम्पनीले जनाएको छ । औषधी उत्पादनका लागि २० हजार स्क्वायर फिट र सर्प पालनका लागि दुई हजार दुई सय स्क्वायर फिटको छुट्टाछुट्टै दुई वटा भवन निर्माण गरी सर्प र घोडा पालन गरिएको छ । अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलका अनुसार २०८१ जेठ २३ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट अनुसन्धान केन्द्रका लागि नेपाल राजपत्रमा प्रकाशित व्यवस्थाबमोजिम वित्तीय सहुलियत तथा छुटलगायतका सुविधा उपलब्ध गराउन अर्थ मन्त्रालयमा सिफारिस गरिएको थियो । ‘एन्टी स्नेक भेनम’ उत्पादन उद्योगले सर्पदंशको उपचारका लागि आवश्यक औषधी उत्पादन गर्न सरकारसँग खरिद सम्झौतासमेत गरिएको छ । २०८० साल साउन २५ मा राजपत्रमा प्रकाशित व्यवस्था अनुसार उद्योगले उत्पादन गरेको मापदण्ड पूरा गरेको ‘एन्टिभेनम’ राष्ट्रिय मागको बढीमा ६० प्रतिशतसम्म सरकारले खरिद गर्न सक्ने व्यवस्था रहेको लेखिएको छ छ । यसबाट उत्पादनपछि बजार सुनिश्चित हुने आधार बने पनि उत्पादन सुरु गर्न आवश्यक लगानी जुटाउन नसकिएको अध्यक्ष फुयाँलले बताउनुभयो ।
सरकारले उद्योगलाई वित्तीय सहुलियत, ब्याजमा सहुलियत तथा लगानी सहजीकरणलगायतका सुविधा उपलब्ध गराउने व्यवस्था गरेको भन्दै उद्योगले उद्योग विभागमार्फत प्रक्रिया अघि बढाएको थियो । उद्योग विभागबाट सिफारिस भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हुँदै अर्थ मन्त्रालयसम्म प्रस्ताव पुगेको फुयाँल बताउनुहुन्छ तर अर्थ मन्त्रालयको प्रक्रियापछि बैङ्कबाट ऋण प्राप्त गर्ने चरणमा समस्या देखिएको बताइएको छ । विशेष गरी तराई क्षेत्रमा गर्मी तथा वर्षायाममा सर्पदंशका घटना बढ्ने गरेका छन् । स्वदेशमै एन्टिभेनम उत्पादन हुन सके उपचारका लागि बाह्य मुलुकमा निर्भरता घट्ने र समयमै औषधी उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ ।


