इटहरी रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि इलामका दुई पालिकाले रु ३५ लाख सहयोग गर्ने भएका छन्।
जिल्लाको चुलाचुली गाउँपालिकाले रु २५ लाख र माई नगरपालिकाले रु १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। बिहीबार बसेको चुलाचुली गाउँपालिकाको ७६औँ कार्यपालिका बैठकले गाउँपालिका अध्यक्ष र उपाध्यक्षले सात दिन तथा वडाध्यक्ष र सदस्यले पाँच दिनको सेवासुविधा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुले बताए। अध्यक्ष केरुङका अनुसार गाउँपालिकाका विभिन्न तहका कर्मचारीको पारिश्रमिकसमेत सहयोग गर्ने निर्णय भएको छ। 'भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतमा सहयोग पुग्ने विश्वाससहित आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेका छौँ,' अध्यक्ष केरुङले भने, 'जनप्रतिनिधि तथा शिक्षक-कर्मचारीको तर्फबाट रु २५ लाख सङ्कलन गरी जम्मा गर्नेछौँ यस्तै, बिहीबार बसेको माई नगरपालिकाको ६५औँ कार्यपालिका बैठकले सबै जनप्रतिनिधिको १५ दिनको सेवासुविधा र कर्मचारीको दुई दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको नगरप्रमुख खम्बासिंह लिम्बूले बताए। जनप्रतिनिधि र कर्मचारीबाट सङ्कलित रकममा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप रकम जुटाएर रु १० लाख पुर्याइनेछ। इलाममा चार नगरपालिकासहित १० स्थानीय तह छन
आठ जना सम्पर्कविहीन
यसैबीच, भोटेकोशी बाढीमा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका इलामका आठ जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए। प्रजिअ ढकालका अनुसार बिहीबारसम्म प्राप्त विवरणअनुसार देउमाई नगरपालिकाका बुद्धिसागर न्यौपाने र खिनमाया न्यौपाने, माई नगरपालिकाका नरेन्द्रप्रसाद दाहाल तथा सन्दकपुर गाउँपालिकाका दिवानन्द सुवेदी (दीपक) सम्पर्कविहीन भएका छन्। उनीहरूमध्ये न्यौपाने दम्पती र दाहाल गोसाइँकुण्ड तीर्थयात्रामा थिए भने सुवेदी उनीहरूका सवारी चालक हुन्। त्यस्तै, माई नगरपालिकाका विनोद राई तथा फाकफोकथुम गाउँपालिका–६ का लिलाबहादुर थापा (लोक) र विनु थेगिम पनि सम्पर्कविहीन छन्।
उनीहरू तीनै जना रसुवाको मैलुङ गगनी भन्ने स्थानमा निर्माणाधीन जलविद्युत् आयोजनामा कामदारका रूपमा कार्यरत रहेको प्रजिअ ढकालले बताए। त्यसैगरी, बैतडीको सिगास गाउँपालिका–७ घर भई हाल सबडिभिजन वन कार्यालय, माई नगरपालिकामा कार्यरत वनरक्षक लक्ष्मणसिंह ऐर पनि सम्पर्कविहीन भएका छन्। प्रजिअ ढकालले सुरक्षाकर्मी र जनप्रतिनिधिमार्फत जिल्लाका सम्पर्कविहीन व्यक्तिको विवरण सङ्कलन भइरहेको बताए। 'बाढीमा हराएका हाम्रा जिल्लाका नागरिकको विवरण सङ्कलन भइरहेको छ,' उनले भने, 'सम्पर्कविहीन भएकाको खोजी तथा उद्धारका लागि सम्बन्धित पालिकासँग समन्वय गरिरहेका छौँ।' बाढी प्रभावित क्षेत्रमा विभिन्न कामका सिलसिलामा रहेका जिल्लाका नागरिकको अवस्था बुझी सम्बन्धित परिवारलाई जानकारी गराउन अपिल गरिएको उनले बताए।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा आपत्कालीन उद्धार केन्द्रको फोन नम्बर १२३४ मा जानकारी गराउन वा ०२७५२३९८८ र ९८५२६३३३९९ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

