रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाएका ४६९ जनाको शव फेला परेको छ । शुक्रबार बिहान साढे ७ बजेसम्म प्राप्त विवरणअनुसार हालसम्म ४६९ जनाको शव फेला परेको गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (एनईओसी)ले जनाएको हो ।  फेला परेका शवमध्ये धादिङमा ३३, नुवाकोटमा ३७, रसुवामा १२, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, तनहुँमा २८, चितवनमा १७५ र नवलपरासी पश्चिममा २७ जना रहेका छन्। एनईओसीका अनुसार ७३ जना घाइते भएको तथा ३ हजार २ सय ५३ जनाको उद्धार गरिएको छ । विपद्का घटनामा परी हालसम्म ७३ जना घाइते भएका छन्। तीमध्ये रसुवामा ४३, धादिङमा ३ र नुवाकोटमा २७ जना छन् । 

उद्धार तथा राहतका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको एनईओसीले जनाएको छ।  विपद् प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका लागि कुल ९ हजार ४ सय ५ जना सुरक्षाकर्मी परिचालन गरिएको एनईओसीले जनाएको छ । जसमा ४ हजार २ सय ४३ नेपाली सेना, ३ हजार ३ सय १८ नेपाल प्रहरी र १ हजार ८ सय ४४ शसस्त्र प्रहरी रहेका छन् ।   केन्द्रले विभिन्न निकाय र क्षेत्रका व्यक्तिहरूको सम्पर्कविहीनसम्बन्धी विवरण पनि सार्वजनिक गरेको छ। सूचनाअनुसार सम्पर्कविहीनको संख्या ९७७ उल्लेख गरिएको छ। सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना समावेश छन्।

दुर्गम तथा प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हवाई माध्यमसमेत परिचालन गरिएको छ। एनईओसीका अनुसार नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी जम्मा १५ वटा हेलिकप्टर उद्धार तथा राहत कार्यमा खटिएका छन्।  विपद् प्रभावित क्षेत्रमा राहतका लागि सरकारले रसुवालाई १ करोड रुपैयाँ, नुवाकोटलाई १ करोड रुपैयाँ र धादिङलाई ५० लाख रुपैयाँ गरी कुल २ करोड ५० लाख रुपैयाँ पठाएको जनाएको छ।  त्यसैगरी स्लिपिङ ब्याग, ब्ल्याङ्केट, चार्जर, बिस्कुट तथा तत्काल आवश्यक खाद्य सामग्रीसहित १० वटा ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ।