इटहरी । प्राकृतिक विपद्मा कोशी प्रदेश सरकारले आर्थिक सहयोगसहित राहत तथा उद्धारमा हातेमालो गर्ने भएको छ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कोशी प्रदेश सरकारले तीन करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले विपद्को कठिन घडीमा प्रदेश सरकार प्रभावित नागरिकसँगै रहेको बताए। उनका अनुसार राहत तथा उद्धारका लागि आवश्यक सहयोग उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध छ।

मन्त्री शेर्पाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच प्रभावकारी समन्वय भए मात्रै विपद्को प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सकिने बताए। प्रदेश सरकारले भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेको छ।

भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको छ भने अझै प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहतको काम जारी छ। यसैबीच विभिन्न सरकारी निकाय, स्थानीय तह, निजी क्षेत्र तथा सामाजिक संस्थाले समेत राहत तथा उद्धारका लागि सहयोग घोषणा गरिरहेका छन्।