काठमाडौं । रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक ९असई० रामकाजी पौडेलको शव चितवनमा फेला परेको छ । भोटेकोशीमा आएको बाढीले बेत्रावती चौकी बगाउँदा पौडेल पनि बेपत्ता भएका थिए ।

नुवाकोट घर भएका ४३ वर्षीय पौडेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका डीएसपी चन्द्रभुषण यादवका अनुसार पोस्टमार्टमपछि परिवारले जिल्ला अस्पताल चितवन पुगेर पौडेलको शव बुझेका हुन् ।

चितवनमा फेला परेको अर्को एउटा शवको पनि सनाखत भएको छ ।  उनी बाँकेको कोहलपुर घर भएका २३ वर्षीय कविलाल चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीको शव पनि परिवारलाई जिम्मा लगाइएको डीएसपी यादवले बताए ।