इटहरी। भोटेकोशी नदीमा गत बुधबार आएको आकस्मिक बाढीका कारण सम्पर्कविहीन भएका कोशी प्रदेशका नागरिकमध्ये १५ जना सम्पर्कमा आएका छन् भने १३९ जना अझै सम्पर्कविहीन छन् । प्रदेशका विभिन्न जिल्लाबाट बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार, पर्यटन, धार्मिक भ्रमण तथा अन्य कामको सिलसिलामा गएका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक शेखर खनालका अनुसार बाढीका कारण सबैभन्दा बढी प्रभावितमध्ये सोलुखुम्बुका सर्वसाधारण रहेका छन् । सो कार्यालयले उपलब्ध गराएको विवरण अनुसार सोलुखुम्बुका ४१ जनामध्ये दुई जना सम्पर्कमा आएका छन् भने ३९ जनाको अवस्था अझै अज्ञात छ । त्यसै गरी ओखलढुङ्गाका २२ जनामध्ये २० जना, उदयपुरका १८ जनामध्ये १५ जना र सुनसरीका १७ जनामध्ये १५ जना अझै सम्पर्कविहीन छन् । मोरङका १६ जनाको अवस्था पनि अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापाका १२ जनामध्ये १० जना, इलामका नौ जनामध्ये सात जना, खोटाङका आठ जना, ताप्लेजुङका पाँच जनामध्ये दुई जना, सङ्खुवासभाका तीन जना, धनकुटाका दुई जना र भोजपुरका एक जना अझै सम्पर्कमा आउन सकेका छैनन् । त्यस्तै तेह्रथुमका छथर गाउँपालिका–१ स्थित आङ्दिम कोराङ घर भएका ३६ वर्षीय रामभक्त नेवार सम्पर्कविहीन हुनुभएको छ । पारिवारिक स्रोतका अनुसार उहाँ ट्रक लिएर सामान लिन रसुवा नाका पुग्नुभएको थियो । सम्पर्कविहीन रहेका नागरिकको अवस्था पत्ता लगाउन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय, स्थानीय प्रशासन र सरोकारवाला निकायले खोजी कार्यलाई निरन्तरता दिएका छन् । प्रहरीका अनुसार भोटेकोशीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका नागरिकको सङ्ख्या तथा उनीहरूको अवस्थाबारे थप विवरण सङ्कलन गर्ने कामसमेत भइरहेको छ ।
सोलुखुम्बुका ४१ जना सम्पर्कविहीन
सोलुखुम्बु समाचारदाता सन्तोष राउतका अनुसार भोटेकोशी नदीमा आएको बाढीमा परी सोलुखुम्बुका ४१ जना नागरिक सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ । स्थानीय तहले सार्वजनिक गरेको विवरण अनुसार नेचासल्यान गाउँपालिकाका दुई, सोलुदुधकुण्ड नगरपालिकाका १६, थुलुङ दुधकोशी गाउँपालिकाका चार, माप्य दुधकोशी गाउँपालिकाका १०, सोताङ गाउँपालिकाका नौ, महाकुलुङ गाउँपालिकाका तीन र लिखुपिके गाउँपालिकाका तीन जना सम्पर्कविहीन रहेका छन् । बाढीमा परी सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारका लागि सङ्घीय तथा प्रदेश सांसद, स्थानीय तहका प्रमुख, राजनीतिक दलका जिल्ला नेतृत्व र प्रभावित परिवारका प्रतिनिधिको सहभागितामा छलफल गरी प्रतिनिधि सभा सदस्य प्रकाशसिंह कार्कीको संयोजकत्वमा सर्वपक्षीय समिति बनाएर सरकारसँग आवश्यक समन्वय थालिएको छ । प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगर केही व्यक्ति तिब्बततर्फ भएकाले पनि सम्पर्क हुन नसकेको हुन सक्ने बताउनुभयो ।
झापाका दुई जना सम्पर्कमा
दमक समाचारदाता विष्णुप्रसाद पोखरेलका अनुसार बाढीपछि झापाका १२ जना सम्पर्कविहीन भएकोमा दुई जना सम्पर्कमा आएका छन् । बाढीपछि बेपत्ता भएकाका आफन्तले खोजी तथा उद्धारका लागि प्रशासन र सम्बन्धित निकायसँग अपिल गरेका छन् । झापाबाट रसुवाका जलविद्युत् आयोजनामा काम गर्न जाने तथा गोसाइँकुण्ड दर्शनका लागि जानेको सङ्ख्या उल्लेख्य रहेको प्रशासनले जनाएको छ । झापाका निमित्त प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीका अनुसार सम्पर्कविहीन भएका आफन्तको खोजीका लागि प्रशासनमा सम्पर्क गर्न अपिल गरिएको थियो । यसैबिच बेपत्ता देवलाल मुर्म फेला पर्नुभएको छ । उहाँलाई उद्धार गरी काठमाडौँ लगिएको अवस्थामा आफन्तसँग भेट भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रन्जन अवाले बताउनुभयो । यसै गरी विनोद राई पनि उद्धारपछि पोखरामा सकुशल रहेको शुक्रबार बिहान जानकारी पाइएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङका तीन जना परिवारको सम्पर्कमा
ताप्लेजुङ समाचारदाता चन्द्र पन्दाकका अनुसार भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका ताप्लेजुङका तीन जना करिब ३२ घण्टापछि परिवारको सम्पर्कमा आएका छन् । परिवारको सम्पर्कमा आउनेमा आठराई त्रिवेणी गाउँ कार्यपालिका सदस्य शान्ता गुरुङका अनुसार निघुरादिनका पासाङतेन्जी शेर्पा, ङिमासाङ्गे शेर्पा र पासाङ शेर्पा परिवारको सम्पर्कमा आउनुभएको हो । उहाँहरू शुव्रmबार बिहान करिब ३ बजेतिर परिवारको सम्पर्कमा आउनुभएको निघुरादिन निवासी गाउँ कार्यपालिका सदस्य गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार शेर्पा दाजुभाइले भागेर ज्यान बचाएको बताउनुभएको छ । ताप्लेजुङका दुई जना भने अझै सम्पर्कविहीन छन् ।
धनकुटाका दुई जना बेपत्ता
पाख्रीबास समाचारदाता सन्तोष सुवेदीका अनुसार भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी धनकुटाका दुई जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा धनकुटा नगरपालिका–४ स्थित चौतारा घर भएका २७ वर्षीय विपन घिसिङ रहनुभएको छ । उहाँ मङ्गलबार काठमाडौँबाट पर्यटकको गाडी लिएर टिमुरे पुग्नुभएको थियो । त्यस दिन टिमुरेको होटेलमा बास बसेका उहाँ बुधबार बिहान ८ बजे घरपरिवारसँग सम्पर्क भएको उहाँको भाउजू फलमाया तामाङले जानकारी दिनुभयो । धनकुटा घर भएका घिसिङ काठमाडौँमा बस्दै आउनुभएको थियो । धनकुटा नगरपालिका–७ स्थित घर भएकी ३४ वर्षीय रुबी राई सम्पर्कविहीन हुुनुहुन्छ । उहाँ अप्पर त्रिशूली–१ मा कार्यरत रहेको बुवा जङ्गबहादुर राईले बताउनुभयो ।


