करिब ६० लाख रुपियाँ बराबरको राहत सामग्री राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमार्फत हस्तान्तरण गर्नुहुँदै नेपाल उद्योग परिसङ्घ कोशीका अध्यक्ष पवनकुमार शारडा ।

विराटनगर, भदौ १४ गते । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले पुर्‍याएको सङ्कटमा सहयोग गर्न विराटनगरका उद्योगी व्यवसायी अग्रसर भएका छन् । व्यावसायिक संस्थाले राहतका लागि नगद र सामग्री सहयोग गर्न थालेका छन् भने आफ्ना सदस्यलाई पनि सहयोगका लागि आग्रह गरेका छन् ।   उद्योग सङ्गठन मोरङले बाढीपीडितको राहतका लागि १५ लाख रुपियाँ सरकारलाई उपलब्ध गराएको छ । नेपाल उद्योग परिसङ्घ कोशीले करिब ६० लाख रुपियाँ बराबरको राहत सामग्री राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमार्फत हस्तान्तरण गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले व्यक्तिगत रूपमा ११ लाख रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसक्नुभएको छ । मोरङ उद्योग व्यापार सङ्घले पनि सदस्यलाई सहयोगका लागि आग्रह गरेको छ र छिट्टै राहत सहयोग उपलब्ध गराउने तयारी गरेको छ ।   निजी क्षेत्र सम्बद्ध यी संस्थाले सदस्य उद्योगी व्यवसायीलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह गरेका छन् ।   नेपाल उद्योग परिसङ्घ कोशीका अध्यक्ष तथा मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष पवनकुमार शारडाले शारडा ग्रुपका तर्फबाट केही दिनभित्रै थप एक करोड रुपियाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “योभन्दा ठुलो विपत्ति देशका लागि के हुन्छ र यस्ता बेलामा हामीले सक्दो सहयोग गर्नु पर्छ, देशका नागरिक सङ्कटमा पर्दा निजी क्षेत्रले आफ्नो जिम्मेवारी पूरा गर्नु पर्छ । हामीले तत्काल राहत सामग्री पठाएका छौँ र थप सहयोगका लागि पनि तयारी गरिरहेका छौँ ।  
मोरङ उद्योग व्यापार सङ्घका पूर्वअध्यक्ष महेश जाजुले विराटनगरको निजी क्षेत्र सङ्कटका बेला एकजुट हुने परम्परा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायीका आफ्नै समस्या हुन्छन् । तर नागरिक सङ्कटमा पर्दा सबैभन्दा पहिले मानवीय दायित्व सम्झन्छौँ । विगतमा पनि त्यसै गरेका थियौँ र अहिले पनि सहयोगका लागि तयार छौँ । यस पटक देश विदेशका नेपालीमा अभूतपूर्व एकता देखिएको छ ।