: रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, धरानले १० लाख रुपैयाँ सहयोग गरेको छ। 

बैंकका सञ्चालक तथा कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी उक्त रकमको चेक शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई हस्तान्तरण गरिएको बैंकका किसन मास्केले जानकारी दिए।  बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले सञ्चालक समिति तथा कर्मचारीहरूको तर्फबाट उक्त रकम प्रदान गरिएको मास्केले बताए। 

यसैगरी, प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज प्रालि, धरानका सञ्चालक तथा मितेरी डेभलपमेन्ट बैंकका सञ्चालक समिति सदस्य अशोककुमार अग्रवालले बाढीपीडितको राहत तथा उद्धारका लागि व्यक्तिगततर्फबाट ३ लाख रुपैयाँको चेक सहयोग गरेका छन्।