इटहरी। सप्तकोशीका माथिल्लो क्षेत्रमा रहेका सहायक नदीमा पानीको बहाव बढेपछि कोशी क्षेत्रमा स्थानीयलाई सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले आइतबार सूचना जारी गर्दै सप्तकोशीका सहायक नदीमा पानीको बहाव बढिरहेको जानकारी दिँदै बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो ।

प्रहरीले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने तथा भिडियो बनाउनेजस्ता जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ । सम्भावित जोखिमलाई ध्यानमा राखी नागरिकलाई सचेत रहन तथा आवश्यक सुरक्षाका उपाय अपनाउन प्रहरीले आह्वान गरेको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।