इटहरी स् विराटनगरमा मुसाले काटेको विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का अन्दाजी ४५ वर्षीय मनोजकुमार राजवंशी रहेका छन् ।

राजवंशी विराटनगर महानगरपालिका–१३ स्थित साल्ट ट्रेडिङ नजिकै सुरेन्द्र थापाको घरमा डेरा गरेर बस्दै आएका थिए । कोठामा मुसाले काटेको वाइरिङको तार जोड्ने क्रममा उनलाई अचानक शनिबार राति करिब ११ः३० बजेतिर करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका राजवंशीलाई तत्काल उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान गर्दा तार जोड्ने क्रममा करेन्ट लागेको देखिएको छ । घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरे नेतृत्वको टोलीले गरिरहेको छ ।