इटहरी स्  फक्ताङलुङ गाउँपालिकाका दुई वडालाई जोड्ने तमोर नदीमाथि मोटर गुड्ने बेल ब्रिज निर्माण सम्पन्न भएको छ। पुल तयार भएसँगै उत्तरी क्षेत्रका बस्तीमा यातायात आवागमन सहज हुने भएको छ।  फक्ताङलुङ गाउँपालिका–५ तापेथोक र वडा–६ लेलेप जोड्ने गरी तमोर नदीमा पुल निर्माण गरिएको हो। तमोर इनर्जी प्रालिको पहलमा निर्माण भएको पुलको लम्बाइ ५४।८ मिटर र चौडाइ ४।५ मिटर छ।

माथिल्लो तमोर जलविद्युत आयोजनाका अनुसार पुल निर्माणमा ७ करोड ८५ लाख १९ हजार १ सय ७६ रुपैयाँ खर्च भएको छ। मोटर गुड्न मिल्ने गरी निर्माण गरिएको पुलले जलविद्युत आयोजना क्षेत्रसँगै स्थानीय बस्तीलाई समेत सडक सञ्जालसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। पुल निर्माणपछि फक्ताङलुङ गाउँपालिकाको वडा–४ इखाबु, वडा–६ लेलेप र वडा–७ ओलाङ्चुङगोलातर्फ यातायात सञ्चालनमा सहजता हुने गाउँपालिकाले जनाएको छ।  यसअघि तमोर नदी पार गर्न स्थानीयले भौगोलिक कठिनाइ तथा मौसमी अवस्थाका कारण समस्या झेल्दै आएका थिए। पुल निर्माण भएपछि खाद्यान्न, निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तुको ढुवानीसँगै स्थानीय आवतजावतमा समेत सहजता आउने अपेक्षा गरिएको छ।

तमोर इनर्जी प्रालिको प्रवद्र्धनमा २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माणाधीन छ। आयोजना क्षेत्रमा आवश्यक पूर्वाधार विकाससँगै स्थानीय तहमा यातायात पहुँच विस्तार गर्ने क्रममा बेल ब्रिज निर्माण गरिएको आयोजनाले जनाएको छ।