इटहरी स् मोरङको मिक्लाजुङमा कच्ची सडकबाट ट्याक्टर खस्दा चालकको मृत्यु भएको छ। दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन्। मिक्लाजुङ गाउँपालिका–१ लोकडाँडास्थित शुके–जौवारी कच्ची सडकमा शनिबार राति करिब १० बजे दुर्घटना भएको हो। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ९१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ हंशबारीका २६ वर्षीय ट्याक्टर चालक शुक्र दमाई गम्भीर घाइते भएका थिए। स्थानीयको सहयोगमा उद्धार गरी उनलाई उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पुर्याइएको थियो।
अस्पताल पुर्याएको केही समयमै आइतबार राति १२ः३५ बजे चिकित्सकले दमाईलाई मृत घोषणा गरेको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए। दुर्घटनामा ट्याक्टरका सहचालक पाँचथरकै मिक्लाजुङ–७ एकरातेका २१ वर्षीय किरण राई घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उर्लाबारीमा उपचार सम्भव नभएपछि राईलाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएको छ। कच्ची सडकमा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक विवरण आए पनि दुर्घटनाको यकिन कारण खुलिसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


