इटहरी स् भोटेकोशीमा आएको बाढीपछि रोजगारीका क्रममा रसुवा पुगेका भोजपुरका चार जना सम्पर्कविहीन भएका छन्। बाढीपछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा टेम्केमैयुङ गाउँपालिका–९ का ३१ वर्षीय प्रभाकर दङ्गाल, भोजपुर नगरपालिका–७ का ५९ वर्षीय गोविन्द राई, षडानन्द नगरपालिका–९ किमालुङका ४७ वर्षीय निमा लाक्पा शेर्पा र पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका ६६ वर्षीय गोपी राई छन्। दङ्गाल रसुवाको मैलुङस्थित सैनिक पोस्टमा कार्यरत थिए। राई र शेर्पा दुसन हाइड्रोपावर कम्पनीमा कार्यरत रहेको प्रहरीले जनाएको छ। त्यस्तै गोपी राई तुनवी कन्स्ट्रक्सनमा काम गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख ज्ञानबहादुर खड्काका अनुसार भोटेकोशी बाढी आएपछि उनीहरूबारे परिवार तथा आफन्तले जानकारी पाउन सकेका छैनन्।
बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा कार्यरत भोजपुरका उनीहरू सम्पर्कविहीन भएपछि परिवारमा चिन्ता बढेको छ। प्रहरीले उनीहरूको अवस्थाबारे जानकारी संकलन तथा खोजीको काम भइरहेको जनाएको छ। भोटेकोशीमा आएको बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा सम्पर्क तथा यातायात अवरुद्ध हुँदा बेपत्ता तथा सम्पर्कविहीनको विवरण संकलनमा समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।


