इटहरी । आगलागीका कारण करिब एक वर्षदेखि बन्द रहेको झापाको बिर्तामोडस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ।

पुनर्निर्माण तथा आवश्यक व्यवस्थापनको काम पूरा भएपछि स्टोर आइतबारदेखि ग्राहकका लागि खुला गरिएको हो। गत वर्ष भदौ २४ गते भएको आगलागीबाट स्टोरमा क्षति पुगेपछि सेवा बन्द गरिएको थियो। लामो समयको पुनर्निर्माणपछि भाटभटेनीले पुरानै स्थानबाट कारोबार पुनः सुरु गरेको हो। भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले विज्ञप्तिमार्फत बिर्तामोड स्टोर पुनः सञ्चालनमा आएको जानकारी दिएका छन्। उनले ग्राहकको सुविधालाई केन्द्रमा राख्दै आधुनिक सेवा र गुणस्तरीय सामग्री उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएका छन्। स्टोर पुनः सञ्चालनमा ल्याउन सहयोग गर्ने ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति गुरुङले आभार व्यक्त गरेका छन्।

आगामी दिनमा पनि यस्तै साथ, सहयोग र विश्वास प्राप्त हुने अपेक्षा रहेको उनले बताएका छन्। भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार बिर्तामोड शाखाले आइतबारदेखि नियमित सेवा सुरु गरेको हो। आगलागीपछि स्टोरको भौतिक संरचना पुनर्निर्माणसँगै सेवा सञ्चालनका लागि आवश्यक व्यवस्थापनको काम सम्पन्न गरिएको उनले बताए। लामो समयपछि स्टोर पुनः सञ्चालनमा आएपछि बिर्तामोड तथा आसपासका ग्राहकलाई दैनिक उपभोग्य सामग्री खरिदका लागि थप सुविधा पुगेको छ। यसैगरी आगलागीबाट प्रभावित धरान र टंगालस्थित भाटभटेनी स्टोर पनि आवश्यक पुनर्निर्माण तथा व्यवस्थापनको काम पूरा गरी छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको पौडेलले जानकारी दिए।