इटहरी स् विराटनगरमा चोरी गर्न घरभित्र प्रवेश गरेका एक पुरुषको तीन तलामाथिबाट हाम्फाल्दा मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन।

विराटनगर महानगरपालिका–४ गणेशचोकस्थित पुरुषोत्तम न्यौपानेको घरमा आइतबार मध्यराति चोरी गर्न पुगेका अन्दाजी ३५–४० वर्षीय पुरुषको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती पुरुष छिमेकीको अर्को घरबाट माथि चढेर न्यौपानेको घरमा पुगेका थिए। घरको तीन तलामाथि पुगेपछि घरधनीले उनलाई देखेर होहल्ला गरेका थिए। होहल्लापछि छरछिमेकीसमेत जम्मा हुन थालेपछि उनी भाग्ने क्रममा तीन तलामाथिबाट हाम्फालेका थिए। गम्भीर घाइते भएका उनको राति करिब १२ः२० बजेतिर घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए।

घटनापछि डीएसपी श्रेष्ठ नेतृत्वको प्रहरी टोलीले घटनास्थलको मुचुल्कासहित कानुनी प्रक्रिया पूरा गरी राति करिब २ बजे शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ। मृतकको साथबाट पहिचान खुल्ने कुनै कागजात फेला नपरेको प्रहरीले जनाएको छ। प्रहरीले उनको पहिचान खुलाउने प्रयाससँगै घटनाबारे थप अनुसन्धान गरिरहेको छ।