इटहरी स् सुनसरी प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट इनरुवा बसपार्कबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार इनरुवा नगरपालिका–४ बसचोकस्थित महेन्द्र राजमार्गमा शङ्कास्पद अवस्थामा पैदल हिँडिरहेका मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३८ वर्षीय खिलाराज राई र सोही नगरपालिकाको वडा नम्बर ९ का ३४ वर्षीय विनोद लिम्बुलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ४ दशमलव ११ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। यसैगरी, इनरुवा नगरपालिका–४ बसचोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–०४६ प २२६५ नम्बरको स्कुटर जाँच गर्ने क्रममा इटहरी उपमहानगरपालिका–१० का १८ वर्षीय जयराम चौधरी र १८ वर्षीय अनुराग चौधरी पक्राउ परेका छन्।
उनीहरूको साथबाट ३ दशमलव १२ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै, दुहबी नगरपालिका–८ कदमगाछीमा ब्राउनसुगर कारोबार भइरहेको सूचनाका आधारमा सिआरभी सोनापुरबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २६ वर्षीय सन्दीप कार्की र २७ वर्षीय अनिस कार्कीलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २ दशमलव ५० ग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पक्राउ परेका सबै ६ जनालाई बरामद लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर लागुऔषध कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


