इटहरी : विराटनगरमा मध्यराति चोरीको प्रयास भएको छ । चोरी गर्न गएका एक जना पुरुषको भाग्ने क्रममा मृत्यु भएको छ । चोरी गर्न घरभित्र प्रवेश गरेका पुरुषको तीन तलामाथिबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
विराटनगर महानगरपालिका–४ गणेश चोकस्थित पुरुषोत्तम न्यौपानेको घरमा चोरी गर्ने उद्देश्यले प्रवेश गरेका अन्दाजी ३५ देखि ४० वर्षका पुरुषको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा ती व्यक्ति छिमेकीको घरबाट माथि चढेर न्यौपानेको घरमा पुगेको देखिन्छ । उनी घरको तीन तलामाथि पुगेपछि घरधनीले थाहा पाएका थिए ।
घरधनीले थाहा पाएर होहल्ला गरेपछि छरछिमेकीसमेत जम्मा हुन थाले । त्यसपछि पक्राउ पर्ने डरले भाग्ने क्रममा ती पुरुषले तीन तलामाथिबाट हाम्फालेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । तीन तलामाथिबाट खसेर गम्भीर घाइते भएका उनको आइतबार बिहानका राति १२ः२० बजेतिर घटनास्थलमै मृत्यु भएको डीएसपी श्रेष्ठले बताए । मृतकको पहिचान भने अझै खुलेको छैन । उनको साथबाट पहिचान खुल्ने कागजातसमेत फेला नपरेको प्रहरीले जनाएको छ ।
डीएसपी श्रेष्ठ नेतृत्वको प्रहरी टोलीले घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरेपछि शवलाई बिहानका राति करिब २ बजे पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । प्रहरीले मृतकको पहिचान खुलाउने प्रयास गरिरहेको छ । पहिचानको प्रयास गर्दै घटनाको थप अनुसन्धान अघि बढाइएको श्रेष्ठले बताए ।


