इटहरी। काभ्रे र सिन्धुली जिल्लामा परेको अविरल वर्षाका कारण सुनकोसी नदीमा पानीको बहाव करिब १ दशमलभ ५ मिटर बढेपछि सप्तकोसी नदि किनारका बस्तीमा प्रहरीले सतर्कता अपनाउन माइकिङ गरेको छ । 

पहाडी क्षेत्रमा वर्षा भएपछि सप्तकोसी नदीमा आइतबार बिहान ६ बजे सप्तकोसी नदिको चतरामा १ लाख ९ हजार ४ सय क्यूसेक प्रति सेकेन्ड पानीको जलसतह मापन गरिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । आइतबार दिउँसो १२ बजे भने १ लाख २८ हजार क्यूसेक प्रति सेकेन्ड पानीको जलसतह मापन गरिएको कन्ट्रो रुमका कर्मचारी मुरली सिंहले बताउनुभयो । अहिले ब्यारेजको १७ वटा ढोका खोलिएको छ ।  ब्योजमा भने आइतबार बिहान ६ बजे १ लाख ६० हजार ५ क्यूसेक प्रति सेकेन्ड पानीको जलसतह मापन गरेकोमा दिउँसो १२ बजे १ लाख ५२ हजार ६६० क्यूसेक प्रति सेकेन्ड पानीको जलसतह मापन गरेको जनाइएको छ ।  सुनकोसीसहित सप्तकोसीमा मिसिने सहायक नदीमा पानीको मात्रा बढ्दै गएपछि वराहक्षेत्र नगरपालिका क्षेत्रअन्तर्गत सप्तकोसी नदी किनारमा रहेका बस्तीहरूमा महेन्द्रनगर इलाका प्रहरी कार्यालयले माइकिङ गरी सचेत गराएको छ । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईका अनुसार वराहक्षेत्र मन्दिरदेखि धराहराटपन सम्मको नदी किनार क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सतर्क रहन आग्रह गरिएको हो । यो समाचार तयार पार्दासम्म सप्तकोसी नदीमा जोखिमपूर्ण अवस्थामा पानीको बहाव बढेको छैन । माथिल्लो क्षेत्रमा भइरहेको वर्षाका कारण नदीमा पानीको सतह बढ्न सक्ने भएकाले पूर्व सावधानी अपनाइएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो । उहाँका अनुसार नदी किनारमा रहेका बस्तीका स्थानीयलाई नदीको अवस्था नियाल्न र जोखिमयुक्त क्षेत्रमा नजान तथा सम्भावित बाढीको अवस्था आए सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । कोसीमा जलसतह बढेपनि मधुवन, राजावास, प्रकाशपुरलगायत पूर्वी तटबन्धमा खतरा नरहेको बताइएको छ ।