इटहरी। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले बाढी तथा पहिरोको उच्च जोखिममा रहेका घरपरिवारलाई सुरक्षित आवासमा स्थानान्तरण गर्ने गरी प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाको वडा नंं. १ सावादिन र वडा नं. २ खेजेनिमका घरपरिवारलाई चालु आर्थिक वर्षभित्रै स्थानान्तरण गर्ने गरी प्रक्रिया अघि बढाएको हो ।
सुरक्षित स्थानमा स्थानान्तरण गर्न जमिन खरिद गरी आवास निर्माणको काम अघि बढाइएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिनुभयो । उहाँका अनुसार जोखिममा रहेका परिवारको पहिचान गरी सुरक्षित स्थानमा स्थायी आवास केन्द्र निर्माण गरेर स्थानान्तरण गर्ने गाउँपालिकाको योजना रहेको छ ।
बाढी तथा पहिरोका कारण विस्थापित परिवारको व्यवस्थापनमा स्थानीय तहले प्राथमिकता दिँदै आएका छन् । यसअघि मैवाखोला गाउँपालिकाले पहिरोबाट विस्थापित ६५ घरपरिवारलाई अस्थायी आवासमार्फत व्यवस्थापन गरेको थियो । ती परिवारका लागि स्थायी आवास निर्माणको कामसमेत सुरु भइसकेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो ।


