इटहरी भोजपुरका किसानका लागि रुद्राक्षखेती आम्दानीको राम्रो स्रोत बन्दै गएको छ । जिल्लाको बेँसी क्षेत्रमा उत्पादन भएका रुद्राक्षका दाना टिप्ने क्रम सुरु भएको छ । रुद्राक्षको विक्रीवितरण समेत सुरु भएको छ ।
रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईँका अनुसार गत वर्ष भोजपुरबाट करिब रु एक अर्ब रुपियाँ बराबरको रुद्राक्षको कारोबार भएको थियो । जिल्लामा वार्षिक करिब ११ लाख किलोग्राम रुद्राक्ष उत्पादन हुने उहाँले जानकारी दिनुभयो । एउटै दानाबाट किसानले लाखौँ आम्दानी लिने गरेको उहाँको भनाइ छ । भोजपुरको षडानन्द नगरपालिकमा पर्ने दिङ्ला क्षेत्रका अधिकांश स्थानीयले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम बनाएका छन् । यहाँका किसानले रुद्राक्ष बिक्रीबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् । व्यवसायी सङ्घका अनुसार जिल्लाका ३० देखि ४० हजार किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुद्राक्षखेतीमा आबद्ध छन् ।कम मिहिनेतमा तुलनात्मक रूपमा राम्रो आम्दानी लिन सकिने भएकाले रुद्राक्ष किसानको रोजाइको बाली बन्दै गएको अध्यक्ष चापागाईँको भनाइ छ । रुद्राक्षबाट वार्षिक रूपमा राम्रो आम्दानी हुन थालेपछि युवापुस्ता यसको खेती तथा व्यवसायमा आकर्षित हुने क्रम बढेको उहाँले बताउनुभयो ।
षडानन्द नगरपालिका–१२ का किसान छत्र दमाईले रुद्राक्षबाट राम्रो आम्दानी लिन सकिने बताउनुभयो । गुणस्तरीय र दुर्लभ दाना उत्पादन भए एकैपटक ठूलो रकम प्राप्त हुने उहाँको भनाइ छ । रुद्राक्षका दानामा देखिने प्राकृतिक धर्सा वा रेखाका आधारमा यसको ‘मुख’ निर्धारण गरिन्छ । षडानन्दका किसान पुष्पबहादुर तामाङले एउटै बोटमा उत्पादन भएका सबै रुद्राक्षका दानाको मूल्य समान नहुने बताउनुभयो । उहाँका अनुसार दानाको मुख, आकार, तौल, गुणस्तर, बनोट र दुर्लभताका आधारमा मूल्य निर्धारण हुने गरेको छ । धार्मिक तथा आध्यात्मिक महत्वका कारण रुद्राक्षको माग स्वदेशमा मात्र नभई विदेशमा उच्च रहेको व्यवसायी बताउँछन् । दिङ्ला क्षेत्रका एक किसानले रुद्राक्षबाट वार्षिक न्यूनतम रु एक लाखदेखि अधिकतम ६० लाखसम्म आम्दानी गर्ने गरेका छन् ।पछिल्लो समय रुद्राक्षबाट राम्रो आम्दानी हुन थालेपछि किसानले नयाँ बिरुवा लगाउने तथा पुराना बगान संरक्षण गर्ने क्रम बढाएका छन् । व्यावसायिक रूपमा यसको खेती विस्तार हुँदा गाउँमै रोजगारी तथा आम्दानीको अवसर सृजना भएको स्थानीय किसानको भनाइ छ ।दिङ्ला क्षेत्रमा उत्पादन हुने रुद्राक्ष खरिद गर्न चीनका व्यापारी घरघरमै पुग्ने गरेका छन् । भोजपुरमा उत्पादन हुने रुद्राक्षको प्रमुख प्रारम्भिक बजार भने सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार रहेको व्यवसायी बताउँछन् ।


