दमक नगरपालिकाद्वारा सहयोगको निर्णय
इटहरी दमक नगरपालिकाले बाढीपीडितको राहतका लागि ३१ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । शनिबार बसेको नगर कार्यपालिकाको आपत्कालीन बैठकले उक्त रकम प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको हो । नगरप्रमुख रामकुमार थापाका अनुसार उक्त राहत रकमका लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकले योगदान गर्ने छन् । नगरपालिकाको स्थानीय दैवीप्रकोप कोषमार्फत सहयोग गरिने जनाइएको छ । झापामा अहिलेसम्म सबैभन्दा बढी आर्थिक सहयोगको घोषणा गर्ने पालिका दमक बनेको छ । नगरप्रमुख थापाका अनुसार बैठकले बाढी प्रभावित क्षेत्रमा आवश्यकता अनुसार परिचालन गर्न स्वास्थ्यकर्मीको टोलीसमेत तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । दमक अस्पतालको समन्वयमा विशेषज्ञ चिकित्सकसहितको टोली तयार राखिने नगरप्रमुख थापाले जानकारी दिनुभयो ।


