इटहरी : केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका ११ जनाको नामावली प्रहरीले सार्वजनिक गरेको छ ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभानेस्थित माबुमा लागेको भदौरे मेला घुम्न गएका ३९ वर्षीय शिक्षक राईको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका ११ जनाको नामावली जिल्ला प्रहरी कार्यालय भोजपुरले आइतबार सार्वजनिक गरेको हो । शिक्षक राईको हत्या आरोपमा पक्राउ पर्नेमा सुङ्देलका सागर कोयी राई, प्रतीक राई, निशान राई, सुशील राई, अमर राई, उमेश दुमीराई, तारादेवी राई, सुमिता राई, तेजकुमारी राई, देविका राई र चन्द्रकला राई रहेका छन् । पक्राउ परेका सबै आरोपितलाई आइतबार जिल्ला अदालत भोजपुरमा उपस्थित गराई थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिए । पुरानो रिसिइबीका कारण शिक्षक राईमाथि कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शिक्षक राईको यही भदौ ११ गते राति कुटपिटबाट मृत्यु भएको पुष्टि भएको थियो भने भदौ १२ गते आरोपितहरूलाई पक्राउ गरिएको थियो । विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईका अनुसार राहत कोटाको निम्नमाध्यमिक तहमा कार्यरत शिक्षक राई लगातार तीन दिन विद्यालय बिदा भएपछि सङ्खुवासभा पुगेर फर्कने भन्दै गाउँबाट हिँडेका थिए ।

सोही दिन साँझ उनी धार्मिक तथा पर्यटकीयस्थल सालपापोखरी पुगेका थिए । प्रहरीका अनुसार सामान्य विवादका क्रममा शिक्षक राईको हत्या भएको हो । शिक्षक राई र सुङ्देलकै माइकल भनिने निशान राईबीच भदौ ११ गते साँझ सालपापोखरी नजिकै माबुमा लागेको धार्मिक मेलामा विवाद भएको प्रत्यक्षदर्शीले बताएका छन् । पुरानो रिसिइबीका कारण निशानसँग विवाद भएपछि राति योजनाबद्ध रूपमा कुटपिट गरी शिक्षक राईको हत्या गरिएको मृतकका आफन्तले आरोप लगाएका छन् । मृतक राई र निशानबीच यसअघि पनि गाउँमा पटकपटक विवाद तथा झगडा हुँदै आएको छिमेकीहरूले बताएका छन् । शिक्षक राईको हत्या आरोपमा एउटै गाउँका ११ जना एकैसाथ पक्राउ परेपछि गाउँमा तनाव सिर्जना भएको स्थानीयले बताएका छन् । खोटाङका शिक्षक राईको हत्या भएको क्षेत्र भोजपुर जिल्लामा पर्ने भएकाले घटनाको अनुसन्धान तथा कारबाहीको सम्पूर्ण प्रक्रिया जिल्ला प्रहरी कार्यालय भोजपुरले अघि बढाउनेछ । भोजपुरमा भएको घटनाको थप अनुसन्धानका लागि आवश्यक सहयोग जिल्ला प्रहरी कार्यालय खोटाङबाट गरिने प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।