इटहरी। विराटनगरको सडकमा गम्भीर अवस्थामा भेटिएका एक जना पुरुषको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–९ स्थित चुलाचुली मार्गमा सोमबार बिहान करिब ७ बजेतिर एक जना पुरुष बिरामी तथा गम्भीर अवस्थामा सडकमा रहेको जानकारी प्रहरीले प्राप्त गरेको थियो । जानकारी पाएलगत्तै सीआरभी घोघा पुलबाट असई रामकुमार यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनको उद्धार गरेको थियो । प्रहरीले उपचारका लागि ती पुरुषलाई कोशी अस्पताल पुर्‍याएको थियो ।

तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतकको पहिचान खुल्न सकेको छैन । पहाडे समुदायका जस्तो देखिने अन्दाजी ४५ वर्षीय पुरुषको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । उनको शव हाल कोशी अस्पतालमै राखिएको छ । ती पुरुष कसरी उक्त स्थानमा पुगे र के कारणले उनको मृत्यु भयो भन्ने यकिन भइसकेको छैन । घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।