इटहरी :  मोरङको बूढीगंगा गाउँपालिकामा ग्यास लिक भएर आगलागी हुँदा एक दम्पती घाइते भएका छन् । सोमबार बिहान भएको घटनामा बूढीगंगा–४ प्रगति टोल बस्ने ४६ वर्षीया सुष्मा भण्डारी र उनका श्रीमान ५० वर्षीय केशव भण्डारी घाइते भएका हुन् ।

प्रहरीका अनुसार बिहान करिब ६ बजेतिर सुष्माले घरको भान्सामा चिया पकाउन ग्यास बाल्ने क्रममा अचानक ग्यास लिक भएको थियो । ग्यास लिक भएर सल्किएको आगो उनको शरीरमा लागेको थियो ।  आगलागीबाट सुष्माको टाउको, अनुहार, बायाँ हात तथा दुवै खुट्टामा चोट लागेको छ । उनको शरीरको करिब ४० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको छ ।

श्रीमतीको शरीरमा लागेको आगो निभाउने क्रममा केशवसमेत घाइते भएका छन् । आगोले उनका दुवै हात र ढाडमा पोलेको छ । उनको शरीरको करिब ६ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनाका बारेमा आवश्यक सूचना संकलनका लागि इलाका प्रहरी कार्यालय नेमुवाका सई खड्गबहादुर राईको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।