इटहरी : मोरङको मिक्लाजुङ गाउँपालिका–६ लालमारीस्थित मयुर सामुदायिक वनबाट प्रहरीले तीन थान घरेलु भरुवा बन्दुकसहित बन्दुक बनाउन तथा प्रयोग गर्न आवश्यक सामग्री बरामद गरेको छ।
चोरी–सिकार हुने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले आइतबार साँझ वन क्षेत्रमा गस्ती गरेको थियो। गस्तीका क्रममा झाडीभित्र शंकास्पद अवस्थामा एउटा बोरा फेला परेपछि प्रहरीले खोलेर जाँच गरेको थियो। बोराभित्र तीन थान घरेलु भरुवा बन्दुक, एक थान फलामको नाल, १९ ग्राम २४० मिलिग्राम बारुद, ९८ वटा फलामका बेरिङ र १३ वटा फलामका टुक्रा फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
प्रहरीका अनुसार बरामद सामग्री झाडीमा लुकाएर राखिएको अवस्थामा भेटिएको हो। ती सामग्री चोरी–सिकारमा संलग्न व्यक्तिहरूले प्रयोगका लागि लुकाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। बरामद बन्दुक तथा अन्य सामग्री इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा हतियार राख्नुको उद्देश्यबारे अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए।

