इटहरी : सिलिगुडी घुम्न मोटरसाइकलमा निस्किएका झापाको भद्रपुरका मामा–भान्जाको भारतको बतासीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ। भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीका २५ वर्षीय विजय सहनी र उनका मामा ३१ वर्षीय अशोक सहनीको दुर्घटनामा मृत्यु भएको हो।
प्राप्त विवरणअनुसार विजयले भदौ ११ गते जन्मदिन मनाएका थिए। फुर्सदको समय सदुपयोग गर्दै उनी मामा अशोकसँगै सोमबार बिहान करिब ७ बजे मोटरसाइकलमा सिलिगुडी घुम्न घरबाट निस्किएका थिए। सिलिगुडी जाने क्रममा भारतको पश्चिम बंगालस्थित बतासी अधिकारी बाइपास रोडअन्तर्गत केलाबारी क्षेत्रमा तीव्र गतिमा आएको आर्टिका कारले उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो। कारको ठक्करबाट विजयको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको पनि मृत्यु भएको बताइएको छ। दुर्घटनापछि कार चालक फरार भएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले फरार चालकलाई पक्राउ गरेको छ। पक्राउ परेका चालकलाई सोमबार अदालतमा पेस गरिएको जनाइएको छ।
एकै परिवारका मामा–भान्जाको भारतमा भएको दुर्घटनामा मृत्यु भएपछि भद्रपुर–५ सुन्दरबस्ती शोकमा डुबेको छ।

