इटहरी। गत असार २३ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्गमा आजदेखि यातायात सेवा सञ्चालनमा आएको छ । सो राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड मर्मतपश्चात् आज बिहानदेखि साना सवारी सञ्चालनमा लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।
सडक डिभिजन इलामको झण्डै दुई महिनादेखिको लगातारको प्रयासपछि साना यात्रुवाहक सवारीसाधनका लागि सडकमा यातायात सेवा पुनः खुलाउन सफल भएको प्रजिअ ढकाले बताए । माथिबाट खसेको पहिरो पन्छाउनुका साथै खोलाको क्षेत्रबाट टेवा पर्खाल निर्माण गरिएपछि तत्कालका लागि साना सवारीका लागि सडक खुला गरिएको सडक डिभिजन इलामका कार्यालय प्रमुख इन्जिनियर पवन भट्टराईले जानकारी दिए । उनले हाललाई ठूला र मालबाहक गाडीहरु वैकल्पिक सडक तिल्केनी–सिमलगोलाई र मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) प्रयोग गर्न आग्रह गरिएको बताए । राजमार्ग सञ्चालन भएपछि इलामसहित, पाँचथर र ताप्लेजुङबाट झापा जान र झापाबाट इलामसहित पाँचथर र ताप्लेजुङ आउन यात्रु र सवारीहरुलाई सहज भएको छ । सडक अवरुद्ध हुँदा इलामसहित पाँचथर र ताप्लेजुङबाट झापातर्फ गएका सवारीसाधन पहिरोमाथि माइखोला वारिसम्म र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फ आएका सवारीसाधन माइखोला पारीसम्म आउने÷जाने गरेका थिए ।
मेची राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गको रुपमा तिल्केनी–सिमलगोलाई सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरेको थियो । यस्तै मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक)अन्तर्गत इलाम नगरपालिका–९ र ११ जोड्ने पुवाखोलामा समेत अस्थायी डाइभर्सन निर्माण गरी साना सवरी सञ्चालन गरिएको थियो । घाम लागेका बेला अस्थायी डाइभर्सन निर्माण गरी दुवै सडक सुचारु गर्ने गरिएपनि वर्षा हुनसाथ बाढीले डाइभर्सन बगाउने समस्याले इलामबाट झापा झर्ने कुनै वैकल्पिक सडक नभएकाले व्यवसायी र यात्रुले सास्ती खेप्नुपरेको थियो । गत असोज १८ गतेको वर्षासँगैको पहिरोले अवरुद्ध भएको सो सडक १४ दिनपछि सुचारु भएको थियो । सो सडक यसपटक सबैभन्दा धेरै समय अवरुद्ध भएको हो ।

