इटहरी। गत भदौ १९ गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढी र पहिरोपछि बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहँदा केही आशालाग्दा त केही हृदयविदारक खबरहरू बाहिरिएका छन् । मोरङको बेलबारी–२ माइत भएकी ४३ वर्षीया देवकुमारी गुरुङ बाढीपछि चीनमा भेटिएको आधिकारिक सूचना प्राप्त भए पनि उनको परिवार भने अझै अन्योलमा छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले देवकुमारी चीनमा भेटिएको भन्दै सूचना जारी गरेको छ । तर, उनकी दिदी कमलाका अनुसार माइती पक्षलाई यसबारे कुनै जानकारी दिइएको छैन । ‘बहिनी चीनमा रहेको भन्ने आधिकारिक खबर हामीसम्म आइपुगेको छैन, हामी उनीसँग सिधै कुरा गर्न आतुर छौँ,’ कमलाले भनिन् । यता मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले देवकुमारी चीनमा भेटिएको सूचना प्राप्त भएको पुष्टि गरे । यद्यपि, कानुनी प्रक्रियाका कारण उनलाई नेपाल ल्याउन अझै केही समय लाग्ने उनले बताए । परिवारले भने तत्काल फोनमा सम्पर्क गराइदिन प्रशासनसँग माग गरेको छ । भोटेकोशीकै बाढीमा परेर मोरङका अर्का एक नागरिक पनि बेपत्ता छन् । जिल्ला प्रशासनले यसबारे सूचना निकाले पनि परिवारले भने घरका वृद्ध आमाबुबालाई पीर पर्ने डरले यो कुरा गोप्य राख्न आग्रह गरेका छन् । ‘बुबाआमा वृद्ध र बिरामी हुनुहुन्छ, छोरा भेटिएको छ तर चीनमा भएकाले फोन लाग्दैन भनेर सम्झाएर राखेका छौँ,’ एक आफन्तले भावुक हुँदै भने । विराटनगर–१ का दुर्गाप्रसाद पोखरेल, जो टिमुरेस्थित अध्यागमन कार्यालयमा कार्यरत थिए, बाढी आएको दिनदेखि नै बेपत्ता छन् । काठमाडौँमा रहेका उनका दाजु प्रेम पोखरेलले भाइ जीवितै भेटिने आशा मारिसकेको बताए । ‘भन्सारको कोठाभित्र काम गरिरहेको मान्छेलाई एक्कासि बाढीले हान्यो, बाहिर कुदेकाहरू त बगे भने भित्रका कसरी बच्लान् र ?’ उनले भने ।
दुर्गाप्रसादले बाढी आउनुभन्दा केही मिनेटअघि मात्रै साथीसँग अन्तिम पटक कुरा गर्दै ’कामको चाप धेरै भएको’ बताएका थिए । अहिले उनको परिवार शवको पहिचानका लागि चितवन र नारायणी किनारसम्म पुगेको छ । रसुवाको भोटेकोशी किनारमा आएको त्यो विनाशकारी बाढीले धेरै परिवारको खुसी खोसेको छ । कोही सुरक्षित भेटिएको खबरले राहत महसुस गरिरहेका छन् भने कोही आफ्ना प्रियजनको अन्तिम चिनो (शव) भए पनि भेटिने आशमा भौँतारिइरहेका छन् । प्रशासनले खोजी र उद्धार कार्य जारी रहेको जनाएको छ ।
मोरङमा १५ जना बेपता छन् भने ७ जना सम्पर्कमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भेटिएकाहरू केही उपचार गराइरहेको र केही अस्पतालमा रहेको प्रशासनले जनाएको छ ।

