इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ मा ऐतिहासिक तथा सार्वजनिक महत्वको ‘नेवा बान’ संरक्षण र स्थायी प्रहरी चौकी स्थापनाका लागि स्थानीयवासीले आवाज उठाएका छन्।
पुस्तौँदेखि नेवार समुदायले जोगाउँदै आएको करिब १६ कठ्ठा ५ धुर सरकारी जग्गामा पछिल्लो समय अतिक्रमण बढेपछि स्थानीयले नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्। सार्वजनिक सम्पदाको रक्षाका लागि स्थानीयको विरोधपछि गत असार १६ गतेदेखि त्यहाँ भइरहेको निर्माण कार्य रोकिएको छ। त्यसैगरी, क्षेत्रको बढ्दो जनसङ्ख्या र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै स्थायी प्रहरी चौकी स्थापनाको मागसमेत जोडका साथ उठाइएको छ।
यस क्षेत्रमा लागुऔषध दुव्र्यसन, चोरी–तस्करी, वन दोहन र हात्तीको आतंक लगायतका समस्या बढेकाले शान्ति सुरक्षा कायम गर्न प्रहरीको स्थायी उपस्थिति अनिवार्य भएको स्थानीयको भनाइ छ। समाजसेवी मानबहादुर श्रेष्ठको अगुवाइमा अघि बढाइएको यस अभियानमा राजेश श्रेष्ठ, दीपक श्रेष्ठ र मोमो श्रेष्ठ लगायतका स्थानीय बासिन्दाहरू सक्रिय रूपमा संलग्न रहेका छन्।
उनीहरूले ऐतिहासिक नेवा बानको मौलिक स्वरूप जोगाउन, सरकारी जग्गाको अतिक्रमण स्थायी रूपमा रोक्न र छिटोभन्दा छिटो स्थायी प्रहरी चौकी स्थापना गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।


