इटहरी । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघमा आबद्ध राष्ट्रिय महिला उद्यमी समिति सुनसरी र नेपाल कपडा तथा सिलाई व्यवसायी संघ इटहरीको संयुक्त आयोजनामा सञ्चालित सात दिने एडभान्स फेसन डिजाइन तालिम सम्पन्न भएको छ।
इटहरीस्थित जेसिज भवनमा आयोजित तालिम समापन तथा सिलाई उद्यमी राष्ट्रिय सम्मान कार्यक्रमका अवसरमा तालिममा सहभागी ७० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ।
राष्ट्रिय महिला उद्यमी समिति सुनसरीकी अध्यक्ष पूजा बोहराको अध्यक्षता तथा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै नेपाल कपडा तथा सिलाई व्यवसायी संघ इटहरीका अध्यक्ष रविन न्यौपानेले सिलाई तथा फेसन डिजाइन क्षेत्रलाई थप व्यावसायिक र व्यवस्थित बनाउन सीपमूलक तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
यसैबीच, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघले आठ जिल्लाका १६ जना ज्येष्ठ नागरिक सिलाई उद्यमीलाई राष्ट्रिय सम्मान गरेको छ। लामो समयदेखि सिलाई व्यवसायमा आबद्ध रही यस क्षेत्रमा योगदान पुर्याएका ज्येष्ठ नागरिक उद्यमीलाई सम्मान गरिएको हो।
महासंघले ज्येष्ठ नागरिक सिलाई उद्यमीसँगै सिलाई व्यवसाय तथा उद्यमशीलताको क्षेत्रमा योगदान पुर्याएका विभिन्न विधाका युवा व्यवसायीलाई समेत सम्मान गरेको जनाएको छ।
कार्यक्रममा महासंघका महासचिव ईश्वरकुमार नेपाली, उपाध्यक्ष फिरोज अली, कोशी प्रदेश संयोजक नवीन विकल्प, राष्ट्रिय महिला उद्यमी समितिकी केन्द्रीय संयोजक ज्ञानु प्रधान, केन्द्रीय सचिव तथा प्रशिक्षक संगीता लामिछाने, केन्द्रीय सदस्य तथा प्रशिक्षक मनु थापालगायत महासंघका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।


