इटहरी । स्थानीय तथा अर्गानिक उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित इटहरीमा नेपाल अर्गानिक एग्रो फार्म प्रालि सञ्चालनमा आएको छ ।
इटहरी–६, सीबी कलेज छेउमा फार्मको आउटलेट सञ्चालनमा ल्याइएको हो। संगीता शर्माले सञ्चालनमा ल्याउनुभएको फार्ममा हाल करिब २५१ प्रकारका खाद्य सामग्री उपलब्ध रहेको जनाइएको छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै उपभोक्तालाई गुणस्तरीय तथा अर्गानिक खाद्य सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले फार्म सञ्चालनमा ल्याइएको सञ्चालक शर्माले बताउनुभयो। उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक शर्माले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नुअघि नै स्वस्थ जीवनशैली अपनाउनुपर्ने बताउनुभयो। पछिल्लो समय खानपानमा आएको परिवर्तनका कारण विभिन्न स्वास्थ्य समस्या बढिरहेको भन्दै उहाँले दैनिक जीवनमा स्वस्थ तथा अर्गानिक खाद्य सामग्रीको प्रयोगमा जोड दिनुभयो।
नेपाल अर्गानिक एग्रो फार्मले आगामी दिनमा कृषि उत्पादन, प्रशोधन तथा बजारीकरण सँगै विभिन्न कृषिजन्य गतिविधिलाई थप व्यवस्थित र विस्तार गर्ने योजना बनाएको छ। स्थानीय किसानले उत्पादन गरेका कृषि उपजलाई बजारसँग जोड्दै अर्गानिक उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्य फार्मको रहेको सञ्चालक शर्माको भनाइ छ।फार्मको उद्घाटन कार्यक्रममा सान्तको अचारकी सञ्चालक शान्ता चौधरी समेत सहभागी हुनुहुन्थ्यो।
चौधरीले उत्पादन गर्दै आउनुभएको सान्तको अचार पछिल्लो समय नेपालमा मात्र नभई अमेरिका, अस्ट्रेलिया लगायतका विभिन्न देशमा समेत निर्यात हुँदै आएको र इटहरी लगायत कोशी प्रदेशबाट अत्याधिक माग आइरहेको हुँदा कोशी प्रदेशको केन्द्र इटहरीलाई केन्द्रमा राखेर आफ्नो अचारको स्टल बनाएर राखिएको बताउनुभयो । स्वदेशी उत्पादनको माग विदेशमा समेत बढ्दै गएको र अचारको माग पछिल्लो समय थप वृद्धि भइरहेको चौधरीले बताउनुभयो।

कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरी, निवर्तमान उपप्रमुख लक्ष्मी गौतम, कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ, कोशी प्रदेशका पूर्व पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मण तिवारी तथा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य एवं इटहरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जीवन पराजुली लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य एवं इटहरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जीवन पराजुलीले स्थानीय कृषि उत्पादन तथा अर्गानिक खाद्य सामग्रीको प्रवद्र्धनले किसान, व्यवसायी र उपभोक्ता सबैलाई लाभ पुग्ने बताउनुभयो। स्थानीय उत्पादनको बजारीकरण र उपभोग बढाउन सके यसले स्थानीय अर्थतन्त्रलाई समेत थप मजबुत बनाउने उहाँको भनाइ थियो।


