इटहरी। जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ, सुनसरीले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सेवा तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिएको छ ।
संघका पदाधिकारी तथा सदस्यहरू धरान–३ तुर्केस्थित सरस्वती बाल आश्रममा पुगेर अभिभावकविहीन तथा असहाय बालबालिकालाई एक छाक पौष्टिक भोजन गराएका छन् । संघले सामाजिक सेवाको अभियानलाई संस्थागत रूपमा अघि बढाउँदै विभिन्न आश्रम तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि धरान, रामधुनी, भेडेटार, बराहक्षेत्र, इटहरीलगायतका क्षेत्रमा रहेका आश्रम तथा सामाजिक संस्थामा सेवा तथा सहयोगका कार्यक्रम सञ्चालन गर्ने संघको योजना छ । कार्यक्रममा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तेजबहादुर पुरीले सेवाभावमा धनभन्दा मन ठूलो हुने बताए । संघ नाफामूलक संस्था नभई समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्ने सेवामूलक संस्थाका रूपमा अघि बढिरहेको उनले बताए । सदस्यहरूको सहयोग, दाताको योगदान तथा व्यक्तिगत प्रयासबाट यस्ता सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै पुरीले बालबालिकाको उज्ज्वल भविष्यका लागि थोरै भए पनि योगदान गर्न पाएकोमा आफूहरू गौरवान्वित भएको बताए ।
संघको सहयोग पाएको सरस्वती बाल आश्रम भने विगत ३३ वर्षदेखि अभिभावकविहीन तथा असहाय बालबालिकाको सहारा बन्दै आएको छ । धरान–३ तुर्केस्थित आश्रम वि।सं। २०४८ सालमा समाजसेवी स्वर्गीय कृष्णबहादुर साहीको पहलमा स्थापना भएको हो । स्थापना भएदेखि नै आश्रमले अभिभावकविहीन तथा असहाय बालबालिकाको पालनपोषण, शिक्षा, स्वास्थ्य र सर्वाङ्गीण विकासमा योगदान दिँदै आएको छ । कार्यक्रममा आश्रमकी अध्यक्ष रुक्मणि मास्केले आश्रमलाई सम्झिएर सहयोग गर्न पुगेका संघका पदाधिकारी तथा सदस्यहरूप्रति आभार व्यक्त गरिन् । मानव सेवाभन्दा ठूलो धर्म अर्को हुन नसक्ने बताउँदै उनले अभिभावकविहीन बालबालिकाको पेट भर्नु, उनीहरूको अनुहारमा मुस्कान ल्याउनु र भविष्य निर्माणमा सहयोग गर्नु नै ठूलो पुण्यको काम भएको बताइन् ।
समाजले यस्ता बालबालिकालाई आफ्नै सन्तानसरह माया, शिक्षा र अवसर दिन सके उनीहरू पनि राष्ट्रका सक्षम नागरिक बन्न सक्ने उनको विश्वास छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका पूर्वसदस्य कृष्ण शाह, विशिष्ट अतिथि होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य दीपक पोखरेल, उद्योग वाणिज्य संघ सुनसरीका सचिव नारायण सुब्बालगायतको उपस्थिति रहेको थियो ।


