इटहरी।अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा मङ्गलबार पहिलो सेमिफाइनल खेल हुने भएको छ । भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङ र सिराहाको सलहेस युथ क्लबबिच पहिलो सेमिफाइनल खेल हुने भएको हो ।
आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार मङ्गलबार हुने सेमिफाइनल खेल दिउँसो ३ बजे हुने छ । समितिका अध्यक्ष सागर मादेनका अनुसार पाहुना टोली जर्जियन युनाइटेड आयोजक ताप्लेजुङ ११ लाई दुई–एक गोलअन्तरले हराउँदै सेमिफाइनल पुगेको हो ।
त्यस्तै, ललितपुरको सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा चार–तीन गोलअन्तरले पराजित गर्दै सलहेस युथ क्लब सेमिफाइनल पुगेको आयोजक समितिका अध्यक्ष मादेनले जानकारी दिनुभयो । क्वार्टरफाइनलमा निर्धारित समयावधिभित्र सातदोबाटो र सलहेसले बराबरी एक–एक गोल गरेपछि पेनाल्टी सुटआउटमार्फत खेलको नतिजा निकालिएको हो । समितिका अध्यक्ष मादेनका अनुसार सेमिफाइनलमा विजयी हुने टोली प्रतियोगिताको फाइनलमा पुग्ने छ । यस्तै बुधबार पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापा ११ फुटबल क्लबबिच दोस्रो सेमिफाइनल खेल हुने छ । आयोजक समितिका अनुसार फिदिमले चित्लाङ फुटबल क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा चार–तीन गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै झापाले नेपाल पुलिस क्लबलई एक–शून्य गोलअन्तरले हराएको थियो ।
प्रतियोगिताको फाइनल खेल भदौ १९ गते हुने छ । यसवर्ष प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ । आयोजक समितिका अनुसार प्रतियोगितामा सर्बोत्कृष्ट हुने खेलाडीले बजाज कम्पनीको मोटरसाइकल पुरस्कार पाउने छ । वि.सं २०२९ सालदेखि लाखेजात्राको अवसरमा विभिन्न नामबाट खेलाइँदै आएको ऐतिहासिक फुटबल प्रतियोगिता पछिल्लो चार वर्षयता ताप्लेजुङ गोल्डकपको नामबाट आयोजना गरिँदै आएको छ । प्रतियोगिता फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ । यसवर्ष टिकट काटेर खेल हेर्ने एकजना भाग्यशाली दर्शकलाई टिभिएस कम्पनीको स्कुटर उपहारस्वरुप प्रदान गरिने आयोजक समितिका कोाषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार सेमिफाइनलका खेल हेर्न टिकट दर ३०० रुपियाँ र फाइनलका लागि टिकट दर ५०० रुपियाँ निर्धारण गरिएको छ । यसअघि क्वार्टरफाइनलका खेलहरु हेर्नका लागि टिकट दर २०० रुपियाँ रहेको थियो ।


