इटहरी। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि धनकुटाको पाख्रीबास नगरपालिकाले ३० लाख २३ हजार ६१४ रुपियाँ सहयोग गर्ने भएको छ ।

नगरपालिकाको कार्यपालिका बैठकले विपदबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । नगरपालिकाले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । नगरपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट पाँच लाख, जनप्रतिनिधिको सेवा–सुविधाबाट एक लाख ५३ हजार, नगरपालिकामा कार्यरत कर्मचारीको तलबबाट ६ लाख ४८ हजार ९४२ तथा नगरपालिका क्षेत्रबाहिरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलबबाट १७ लाख २१ हजार ६७२ सहयोग गरिनेछ ।

यसरी विभिन्न स्रोतबाट संकलन हुने ३० लाख २३ हजार ६१४ रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट जम्मा गर्ने निर्णय गरिएको नगरप्रमुख ज्ञानबहादुर गुरुङले जानकारी दिनुभयो । विपद्को समयमा मानवीय कर्तव्य र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै तत्काल राहत, उद्धार तथा दीर्घकालीन पुनःस्थापनाका लागि सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।