इटहरी । भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि हिमगिरि हाइजिन लिमिटेडले ७० लाख रुपियाँबराबरका व्यक्तिगत तथा घरायसी सरसफाइ सामग्री सहयोग गर्ने भएको छ ।

बाढीका कारण ठुलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री उपलब्ध गराउने उद्देश्यले कम्पनीले सहयोग गर्न लागेको हो । बाढीपछि विस्थापित तथा प्रभावित परिवारको दैनिक जीवनमा सरसफाइका सामग्रीको अभाव हुन सक्ने र त्यसबाट विभिन्न सङ्क्रामक रोग फैलिने जोखिमसमेत रहने भएकाले हाइजिन सामग्रीलाई राहतको महत्त्वपूर्ण हिस्सा बनाइएको कम्पनीले जनाएको छ । देवनारा ग्रुप–जाजू ग्रुपअन्तर्गत विराटनगरमा रहेको हिमगिरि हाइजिन लिमिटेडले करिब ७० लाख रुपियाँबराबरका साबुन, डिटर्जेन्टलगायत व्यक्तिगत तथा घरायसी सरसफाइका अत्यावश्यक सामग्री प्रभावित परिवारलाई उपलब्ध गराउने जाजू ग्रुपका अध्यक्ष तथा वरिष्ठ उद्योगी महेश जाजूले जानकारी दिनुभयो । विपद्पछिको तत्कालीन अवस्थामा स्वच्छ पानी, सरसफाइ र व्यक्तिगत स्वच्छताको पहुँच कमजोर हुँदा झाडापखाला, छालासम्बन्धी समस्या तथा अन्य सङ्क्रामक रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित समुदायको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सामग्री सहयोग गर्न लागिएको उद्योगी जाजूले बताउनुभयो ।

हिमगिरि हाइजिन लिमिटेडले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । कम्पनीले घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जोखिममा रहेका नागरिकको सुरक्षित उद्धार र प्रभावित क्षेत्रमा प्रभावकारी राहत व्यवस्थापन आवश्यक रहेको जनाएको छ । कम्पनीले विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ । राहत सामग्री उपलब्ध गराउनुका साथै प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न र विपद्पछिको पुनःस्थापनामा निजी क्षेत्रको समेत सक्रिय भूमिका आवश्यक रहेकोमा कम्पनीले जोड दिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, सरकारी निकाय तथा विभिन्न सामाजिक सङ्घसंस्था सक्रिय रहेका बेला निजी क्षेत्रबाट हुने सहयोगले प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उद्योगी जाजूले विपद्को कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान व्यक्त गर्दै विपद्पछिको मानवीय सङ्कटमा सबै पक्षबिच सहकार्य र एकजुट प्रयास आवश्यक रहेको बताउनुभयो ।