इटहरी। रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीमा फसेका कोशी प्रदेशका पाँच जनाको सकुशल उद्धार गरिएको छ भने २७ जना परिवारको सम्पर्कमा आएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार कोशी प्रदेशका १५९ जना अझै सम्पर्कविहीन छन् ।

बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार, पर्यटन, धार्मिक भ्रमण तथा अन्य कामको सिलसिलामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट गएका १९३ जनामध्ये हालसम्म पाँच जनाको जीवित उद्धार गरिएको र २७ जना परिवारको सम्पर्कमा आएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक शेखर खनालका अनुसार बाढीबाट प्रभावितमध्ये सोलुखुम्बुका नागरिकको संख्या सबैभन्दा बढी छ । कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सोलुखुम्बुका ४५ जनामध्ये तीन जना सम्पर्कमा आएका छन् भने ४२ जनाको अवस्था अझै अज्ञात छ । त्यसैगरी, ओखलढुङ्गाका ३८ जनामध्ये तीन जनाको उद्धार गरिएको छ भने २५ जना अझै बेपत्ता रहेको बताइएको छ । उदयपुरका २१ जनामध्ये पाँच जना सम्पर्कमा आएका छन् । सुनसरीका २१ जनामध्ये पाँच जना सम्पर्कमा आएकाले १६ जना अझै सम्पर्कविहीन छन् । मोरङका १७ जनाको अवस्था पनि अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झापाका १४ जनामध्ये एक जनाको सकुशल उद्धार गरिएको छ भने १३ जनाको अवस्था अज्ञात छ । इलामका १२ जनामध्ये एक जनाको उद्धार गरिएको, एक जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । खोटाङका ११ जनामध्ये एक जना सम्पर्कमा आएका छन् । ताप्लेजुङका पाँच जनामध्ये दुई जना, सङ्खुवासभाका तीन जना, धनकुटाका दुई जना र भोजपुरका एक जना अझै सम्पर्कमा आउन सकेका छैनन् । पाँचथरका एक जना पनि बेपत्ता रहेको प्रहरीको विवरणमा उल्लेख छ । प्रहरीका अनुसार भोटेकोशीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका नागरिकको संख्या तथा उनीहरूको अवस्थाबारे थप विवरण सङ्कलन भइरहेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीनको संख्या र अवस्थाबारे थप तथ्याङ्क आउन सक्ने प्रहरीले जनाएको छ ।