इटहरी। धनकुटामा गत आर्थिक वर्ष २०८१/८२ मा १५१ उद्योग बन्द भएका छन् भने १४८ वटा नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा जिल्लामा प्रशासनतर्फ १२३ र वाणिज्यतर्फ २८ गरी १५१ उद्योग बन्द भएका हुन् ।
सोही अवधिमा कार्यालयमा १४८ वटा नयाँ उद्योग दर्ता भएका छन् । तीमध्ये वाणिज्यतर्फ ३७ र प्रशासनतर्फ १११ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका सूचना अधिकारी अर्जुन गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशासनतर्फ उत्पादनमूलक १५, कृषि तथा वनजन्य ५२, पर्यटन १७, सेवामूलक २२ र सूचना प्रविधितर्फ पाँच गरी १११ नयाँ उद्योग दर्ता भएका छन् । वाणिज्यतर्फ खाद्यान्न तथा किरानासहित ३७ वटा नयाँ उद्योग दर्ता भएका छन् । कार्यालयका अनुसार गत आर्थिक वर्षमा प्रशासनतर्फ ५१६ र वाणिज्यतर्फ २४८ गरी ७६४ उद्योग नवीकरण भएका छन् । कार्यालयमा हालसम्म चार हजार २९३ उद्योग दर्ता रहेका छन् ।
गत आर्थिक वर्षमा उद्योगको पुँजीतर्फ एक करोड ८५५ वृद्धि भएको तथा ३५ लाख १७ हजार ३९९ रुपियाँराजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नयाँ उद्योग दर्ता हुनेको संख्या बढेको छ । अघिल्लो आर्थिक वर्षमा १३४ वटा नयाँ उद्योग दर्ता भएकामा गत आर्थिक वर्षमा १४८ वटा दर्ता भएका छन् । त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग बन्द हुनेको संख्या घटेको छ । अघिल्लो आर्थिक वर्षमा धनकुटामा ३३६ उद्योग बन्द भएकामा गत आर्थिक वर्षमा १५१ वटा मात्रै बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख माधव बास्कोटाका अनुसार उद्यमीमा उत्साह बढेकाले केही गरौँ भन्ने उद्देश्यले अनुदानलगायतका सेवा पाइने अपेक्षामा उद्योग दर्ता गर्ने क्रम बढेको हो । तर प्रक्रिया र मापदण्डअनुसार छनोट गरी अनुदान वितरण गरिने भएकाले अनुदान नपाउने कतिपय व्यवसायीले उद्योग बन्द गर्ने गरेको उहाँले बताउनुभयो ।

