इटहरी । सप्तकोशी नदीमा बाढीसँगै बगेर आउने बालुवा, गेगर, माटो र लेदोको उचित व्यवस्थापन हुन नसक्दा नदीको सतह उकासिँदै गएको छ । नदीको बहाब क्षेत्र गेग्य्रानले पुरिँदै जाँदा सामान्य बाढीमा समेत पानी तटबन्धको छेउसम्म पुग्ने गरेको छ ।
वर्षामा पहाडी तथा हिमाली क्षेत्रमा हुने भूक्षयका कारण ठुलो परिमाणमा बालुवा, गेगर र लेदो कोशीमा बगेर आउने गरेको छ । चतरा क्षेत्रमा पहाडी खोच पार गरेपछि समथर भूभागमा फैलिने नदीमा पानीसँगै आएको गेग्य्रान थुप्रिँदै जाँदा नदीको प्राकृतिक बहाब क्षेत्र पुरिँदै गएको स्थानीय हरिन्द्र राईले बताउनुभयो । वराहक्षेत्र–९ का स्थानीय गणेश निरौलाका अनुसार केही वर्षयता कोशीमा पानीको मात्रा थोरै बढ्दा पनि नदीको सतह निकै माथि पुग्ने गरेको छ । सप्तकोशी डुबान, कटान तथा बाढीपीडित सङ्घर्ष समितिका उपाध्यक्ष लालबहादुर लिम्बूका अनुसार नदीको सतह उकासिँदै जाँदा कोशीले पुरानो धारसमेत परिवर्तन गर्दै आएको छ । नदीको प्राकृतिक बहाब क्षेत्र बालुवा र गेगरले पुरिँदै गएपछि पानीले नयाँ बाटो खोज्ने गरेको उहाँको भनाइ छ । वराहक्षेत्र–१० का ८६ वर्षीय कृष्णप्रसाद नेपालले आफूले बाल्यकाल र युवा अवस्थामा देखेको कोशीको स्वरूप अहिले परिवर्तन भएको बताउनुभयो ।
हिउँदमा टापु, वर्षामा डुबान
सप्तकोशी नदीमा हिउँदमा देखिने बालुवाका टापु वर्षा सुरु भएपछि बढेको पानीको सतहसँगै पुरिँदै जाने गरेका छन् । स्थानीय वीरबहादुर कार्कीका अनुसार वर्षाको धमिलो भेलसँगै बगेर आउने बालुवा, माटो, लेदो र गेगर समथर क्षेत्रमा थुप्रिँदा प्रत्येक वर्ष नदीको सतह माथि उठिरहेको छ । स्थानीय खेम राईका अनुसार नदीमा थुप्रिएको गेग्य्रान व्यवस्थापन गर्न नसक्दा पानीको बहाब क्षेत्र साँघुरिँदै गएको छ । नदीको सतहमा थुप्रिएको बालुवा तथा गेगर हटाउन सके पानीको बहाब सहज हुने र बाढीको जोखिम घटाउन सकिने उहाँको भनाइ छ ।

