इटहरी स्  सुनसरी र उदयपुरमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।  सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित हरिनगरा–बसन्तपुर भित्री सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो।

दक्षिण बसन्तपुरबाट हरिनगरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ५० एसी ०७५५ को मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको को १३ प १८२० नम्बरको मोटरसाइकल सोमबार साँझ करिब ६ः३५ बजे ठोक्किएका थिए। दुर्घटनामा भारतीय मोटरसाइकल चालक हरिनगर गाउँपालिका–५ का करिब ३५ वर्षीय सञ्जय मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते मण्डललाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याइएकोमा चिकित्सकले साँझ ७ः२५ बजे मृत घोषणा गरेका थिए।

दुर्घटनामा नेपाली नम्बर प्लेटको मोटरसाइकल चालक भोक्राहा–नरसिंह गाउँपालिका–५ का करिब ४० वर्षीय कलामुद्दिन अन्सारी र पछाडि सवार करिब ४५ वर्षीय जलामुद्दिन अन्सारी गम्भीर घाइते भएका छन्। दुवैको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

उदयपुरमा साइकललाई मोटरसाइकलको ठक्कर

यस्तै, उदयपुरको कटारी नगरपालिका–४ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। काठमाडौंबाट झापातर्फ जाँदै गरेको मे ८ प ४८९८ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको साइकललाई सोमबार दिउँसो करिब १ बजे ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक इलामको माई नगरपालिका–७ का करिब ४० वर्षीय मनीराज मगर गम्भीर घाइते भएका थिए। उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार साँझ ५ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। साइकलमा सवार कटारी नगरपालिका–४ का करिब ४७ वर्षीय तिलककुमार दनुवार घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा साइकलले अचानक सडक पार गर्न खोज्दा दुर्घटना भएको खुलेको छ। मोटरसाइकल र साइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।