इटहरी : झापाको बुद्धशान्ति गाउँपालिका –५ डाँडागाउँस्थित बहुवन सामुदायिक वन क्षेत्रमा सशस्त्र प्रहरीलाई देखेपछि भ्यान र त्यसमा रहेको सामान छाडेर चालकसहितका व्यक्ति फरार भएका छन्। भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ८ कार्टुन हुक्का फ्लेवरसहित भारतीय नम्बर प्लेटको भ्यान सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, टिमाईबाट खटिएको टोलीले भारतीय नम्बर प्लेट डब्लूबी ७४ एस ३३६५ को मारुती सुजुकी भ्यान र त्यसमा लोड गरिएको हुक्का फ्लेवर बरामद गरेको हो। नायव निरीक्षक सुरेन्द्र ठाकुरको कमाण्डमा १० जना सशस्त्र प्रहरीको मोबाइल टोली भदौ १४ गते बिहान ७ः१० बजे डाँडागाउँ बहुवन सामुदायिक वन क्षेत्रमा पुगेको थियो। टोलीलाई देखेपछि भ्यानमा रहेका व्यक्तिहरू सवारीसाधन र सामान छाडेर फरार भएका थिए।
सशस्त्र प्रहरीले बरामद गरेको ८ कार्टुन हुक्का फ्लेवरको अनुमानित मूल्य ५ लाख रुपैयाँ र भ्यानको मूल्य करिब १० लाख रुपैयाँ रहेको जनाएको छ। बरामद सामान र सवारीसाधनको कुल मूल्य करिब १५ लाख रुपैयाँ रहेको छ। भारतबाट भन्सार छली नेपालतर्फ ल्याइएको आशंकामा बरामद गरिएको भ्यान र हुक्का फ्लेवर आवश्यक कारबाहीका लागि भदौ १५ गते बिहान १०ः५० बजे भद्रपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। भ्यान छाडेर फरार भएका व्यक्तिहरूको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ।


