इटहरी । पाँचथरमा २०८३ वैशाखदेखि साउनसम्म चार महिनाको अवधिमा विपद्का ४८ घटना भएका छन् । ती घटनाबाट जिल्लामा १३ करोड ८१ लाख ४७ हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समिति पाँचथरले जनाएको छ ।
समितिको तथ्याङ्कअनुसार चार महिनाको अवधिमा बाढी, पहिरो, आगलागी र हावाहुरीका घटनाबाट उक्त क्षति भएको हो । विपद्का कारण एक जनाको मृत्यु भएको छ भने २७१ चौपाया मरेका छन् । सबैभन्दा बढी क्षति बाढी र पहिरोबाट भएको तथ्याङ्कमा उल्लेख छ ।
वैशाखदेखि असारसम्म बाढीबाट मात्रै १२ करोड १२ लाख ३० हजार रुपियाँ बराबरको क्षति भएको छ । बाढीले चारवटा जलविद्युत् आयोजना, सडक, झोलुङ्गे पुल र मकैबालीमा क्षति पुर्याएको छ । पहिरोबाट आठ लाख आठ हजार रुपियाँ बराबरको क्षति भएको तथ्याङ्क सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताउनुभयो । पहिरोका कारण खानेपानी तथा सिँचाइका पाँच संरचनामा क्षति पुगेको छ भने विभिन्न स्थानमा सडकसमेत अवरुद्ध भएको छ । हावाहुरीबाट १० लाख ७० हजार रुपियाँ बराबरको क्षति भएको छ । यस अवधिमा आगलागीबाट समेत घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको तथ्याङ्कमा उल्लेख छ ।
साउन महिनामा मात्रै विपद्का १५ घटना भएका छन् । ती घटनाबाट एक करोड ३६ लाख १० हजार रुपियाँ बराबरको क्षति भएको छ । पहिरोका कारण दुई चौपाया, दुई घर र एउटा स्वास्थ्य चौकीमा क्षति पुगेको छ भने १८४ जना प्रभावित भएका छन् । चार महिनाको अवधिमा विपद्का कारण २५ घरमा क्षति पुगेको छ । यस अवधिमा २७ गोठमा समेत क्षति भएको छ भने २०८ जना विस्थापित भएका छन् । विपद्का घटनामा उद्धार तथा व्यवस्थापनका लागि २०५ पटक प्रहरी परिचालन भएको तथ्याङ्कमा उल्लेख छ । चार महिनाको अवधिमा घरबस्तीमा मात्र नभई कृषि, पशुपालन, सडक, जलविद्युत् तथा सार्वजनिक पूर्वाधारमा समेत क्षति पुगेको तथ्याङ्कले देखाएको छ ।


