इटहरी : मोरङका विभिन्न खोलाबाट ढुंगा तथा बालुवा उत्खनन र ओसारपसार गरिरहेको अवस्थामा पाँचवटा ट्र्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस उर्लाबारीबाट खटिएको गस्ती टोलीले उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाका विभिन्न क्षेत्रमा सोमबार गरेको निगरानीका क्रममा ती ट्र्याक्टर नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–२ स्थित सुनझोडा खोलाबाट ढुंगा लोड गरी ल्याउँदै गरेको प्रदेश १–०४–००१ त ०३४२ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको छ। उर्लाबारी नगरपालिका–१ सिमानाको बस्तीस्थित मावा खोलाबाट बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रदेश १–०२–००३ त १३५५ नम्बरको ट्र्याक्टरसमेत नियन्त्रणमा परेको छ।
यसैगरी, मिक्लाजुङ गाउँपालिका–७ मलामी टहरा क्षेत्रमा पर्ने बक्राहा खोलाबाट मे १ त ४७७६, मे १ त ५३३२ र प्रदेश १–०२–००३ त १३ नम्बरका तीनवटा ट्र्याक्टर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका सबै ट्र्याक्टरलाई आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा बुझाइएको छ। उर्लाबारी क्षेत्रबाट नियन्त्रणमा लिइएको ट्र्याक्टर उर्लाबारी नगरपालिका र मिक्लाजुङ क्षेत्रबाट नियन्त्रणमा लिइएका ट्र्याक्टर गाउँपालिकाको कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार रोक्न गस्ती र निगरानीलाई थप प्रभावकारी बनाइनेछ।


