इटहरी । सुनसरीको दुहबीमा उद्योगको निर्माणाधीन भवनबाट खसेर मंगलबार बिहान एक जना मजदुरको मृत्यु भएको छ।
मृत्यु हुनेमा दुहबी नगरपालिका–६ का ३६ वर्षीय महेश्वर मण्डल रहेका छन्। उनी दुहबी–८ सोनापुरस्थित अरिहन्त ओम एग्रो लिमिटेडको निर्माणाधीन भवनमा मजदुरका रूपमा कार्यरत थिए। प्रहरीका अनुसार मंगलबार बिहान करिब १०ः४५ बजे फलामको तार बोकेर भवनको सिँढीबाट माथिल्लो तलामा जाने क्रममा मण्डल अचानक चिप्लिएर करिब २० फिट तल भुइँमा खसेका थिए।
गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर शिवराम थापा नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ।


