इटहरी। मोरङको रंगेली नगरपालिका–५ धनापट्टीस्थित नेपाल–भारत सीमा नाकाबाट कस्मेटिक सामानभित्र लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५ हजार क्याप्सुल लागुऔषध मंगलबार बरामद भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी (बोर्डर आउट पोस्ट) धनापट्टीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका एक जना व्यक्तिलाई शंकास्पद अवस्थामा देखेपछि नियन्त्रणमा लिन खोजेको थियो । मन्दिरको साइटतर्फको बाटो हुँदै टाउकोमा झोला बोकेर नेपाल प्रवेश गर्दै गरेका ती व्यक्ति प्रहरीलाई देखेपछि झोला छाडेर भारततर्फ फरार भएका थिए ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीका अनुसार प्रहरीले उक्त झोला खोलेर चेकजाँच गर्दा कस्मेटिक सामानभित्र लुकाएर राखिएको अवस्थामा २ हजार ५ सय क्लारियो र २ हजार ५ सय ट्रामाडोल गरी ५ हजार क्याप्सुल लागुऔषध फेला परेको हो । बरामद गरिएको लागुऔषध आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन । झोला छाडेर भारततर्फ फरार भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


