इटहरी। कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर र खोटाङमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको दर उच्च पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार कोशीका पाँच जिल्लामा कुपोषणको दर उच्च पाइएको हो ।
कार्यालयका अनुसार सुनसरीमा परीक्षण गरिएका १० हजार ३८१ बालबालिकामध्ये १३ प्रतिशतमा शीघ्र कुपोषण देखिएको छ । त्यस्तै, मोरङमा १६ हजार ७८९ बालबालिकाको परीक्षण गर्दा ९ दशमलव ९ प्रतिशत, खोटाङमा ६ हजार ४६ मध्ये ७ दशमलव २० प्रतिशत, उदयपुरमा ७ हजार ९१२ मध्ये ६ दशमलव ८८ प्रतिशत र झापामा २७ हजार ६४१ मध्ये ६ दशमलव ३६ प्रतिशत बालबालिकामा कुपोषण पाइएको छ । यस्तै, संखुवासभामा ५ दशमलव ८० प्रतिशत, धनकुटामा ५ दशमलव ७६ प्रतिशत, तेह्रथुममा ५ दशमलव ६३ प्रतिशत, ताप्लेजुङमा ४ दशमलव ६७ प्रतिशत, ओखलढुंगामा ४ दशमलव ५८ प्रतिशत, पाँचथरमा ४ दशमलव ३३ प्रतिशत, इलाममा ३ दशमलव २६ प्रतिशत र भोजपुरमा ३ दशमलव १४ प्रतिशत बालबालिकामा शीघ्र कुपोषण देखिएको छ ।
कुपोषणको दर उच्च देखिएका जिल्ला तथा स्थानीय तह पहिचान गरी न्यूनीकरणका लागि आवश्यक योजना बनाइने प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त प्रमुख सागर प्रसाईंले बताउनुभयो । कुपोषणको दर उच्च देखिएका पालिका र त्यहाँका बालबालिकाको अवस्था अभिलेखमा समेटिएको र सोही आधारमा स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा लक्षित कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । निर्देशनालयले कोशी प्रदेशका १४ जिल्लाका एक सय ३७ स्थानीय तहमध्ये एक सय आठ स्थानीय तहमा कुपोषण परीक्षण गरेको थियो । पाँच वर्ष उमेर समूहका ९ हजार २१ जना बालबालिकाको कुपोषण गरिएको कार्यालयले जनाएको छ ।


